काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सेवाग्राहीलाई अनावश्यक दुःख तथा हैरानी दिएको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
सेवाग्राहीबाट गुनासो बढेपछि जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले शुक्रबार उनीहरूलाई कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा सिन्धुलीको सुनकोसी गाउँपालिका–२ का ४२ वर्षीय कमल खड्का, झापाको गेरादह नगरपालिका–७ का ५० वर्षीय गोपालबहादुर बिष्ट, स्याङ्जाको भिरकोट नगरपालिका–५ का ४६ वर्षीय देवप्रसाद अर्याल, काठमाडौं महानगरपालिका–२९ अनामनगरका ५६ वर्षीय नरेन्द्रप्रसाद भण्डारी र ललितपुरको इमाडोलका ५७ वर्षीय ओमशरण रानामगर रहेका छन्।
त्यस्तै, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–३ का ४८ वर्षीय रमेशप्रसाद पुडासैनी र तेह्रथुमको म्याङलुङ नगरपालिका–६ का ५७ वर्षीय स्वयम कृष्ण निरौला पनि पक्राउ परेका छन्।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाले जानकारी दिएका छन्।
प्रतिक्रिया दिनुहोस