२०८३, मंसिर १२ गते

शुक्रवार, मंसिर १२ गते २०८३

निर्वाचनसम्बन्धी कानुन निर्माणमा ढिलाइले चुनौती थपियो : निर्वाचन आयोग

शुक्रवार, मंसिर १२ २०८३०५:२९

निर्वाचनसम्बन्धी कानुन समयमै निर्माण हुन नसक्दा निर्वाचन व्यवस्थापनमा थप चुनौती सिर्जना भएको निर्वाचन आयोगले जनाएको छ।

शुक्रबार ललितपुरमा आयोजित आयोगको चौथो पञ्चवर्षीय रणनीतिक योजनाको मध्यावधि मूल्याङ्कनसम्बन्धी सरोकारवालासँगको परामर्श कार्यक्रममा आयोगका सहसचिव नारायणप्रसाद भट्टराईले यस्तो बताएका हुन्।

उनका अनुसार कृत्रिम बुद्धिमत्ता (एआई), साइबर सुरक्षा तथा सामाजिक सञ्जालमार्फत फैलिने गलत र भ्रामक सूचनाको चुनौती बढ्दै गएको छ। यस्ता चुनौती सम्बोधन गर्न आवश्यक कानुनी व्यवस्था समयमै हुन नसक्दा निर्वाचन व्यवस्थापन थप जटिल बन्न सक्ने उनको भनाइ छ।

भट्टराईले निर्वाचनसम्बन्धी कानुन सुधार, २०८४ सालमा हुने विभिन्न तहका निर्वाचनको पूर्वतयारी, प्रविधि तथा साइबर सुरक्षाको सुदृढीकरण र आयोगको संस्थागत क्षमता अभिवृद्धिलाई प्राथमिकतामा राख्नुपर्ने बताए।

उनले देशभरका सबै मतदान केन्द्रको भू–अवस्थिति पहिचान भइसकेको र भू–सूचना प्रणालीसमेत अद्यावधिक गरिएको जानकारी दिए। अब त्यसलाई थप स्तरीकरण गर्दै मतदान केन्द्रका भौतिक पूर्वाधारको अवस्थासमेत मूल्याङ्कन गर्न सकिने गरी काम भइरहेको उनले बताए।

त्यस्तै, निर्वाचनका लागि आवश्यक स्रोतसाधन तथा शान्ति सुरक्षाको व्यवस्थापनमा संघीय सरकारमाथि निर्भरता बढी रहेको उल्लेख गर्दै स्थानीय तहसँगको समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए। मतदाता शिक्षा र जनचेतनामूलक कार्यक्रमलाई व्यवस्थित गर्न टास्क फोर्स तथा स्थानीय तहको भूमिका बढाउने रणनीति रहेको उनको भनाइ छ।

दुई वर्षमा २४ प्रतिशत मात्रै कार्यान्वयन

आयोगका सहसचिव भट्टराईले आर्थिक वर्ष २०८१/८२ देखि २०८५/८६ सम्मका लागि तयार गरिएको चौथो पञ्चवर्षीय रणनीतिक योजनाको पहिलो दुई वर्षको मध्यावधि मूल्याङ्कनमा हालसम्म २४ प्रतिशत क्रियाकलाप मात्रै पूर्ण रूपमा कार्यान्वयन भएको जानकारी दिए।

स्वच्छ, स्वतन्त्र, निष्पक्ष, समावेशी तथा विश्वसनीय निर्वाचन सुनिश्चित गर्दै लोकतन्त्रलाई संस्थागत र सुदृढ बनाउने दीर्घकालीन लक्ष्यसहित चौथो रणनीतिक योजना तयार गरिएको आयोगले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij