नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले आफ्नो समूहको महाधिवेशन प्रक्रियामा सहभागी हुनेलाई कारबाही गर्ने सभापति गगन थापाको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।
पूर्वसभापति शेरबहादुर देउवा समूहको महाधिवेशनअन्तर्गत शुक्रबार (मंसिर ११) सप्तरी जिल्ला अधिवेशन उद्घाटन गर्दै महतले कांग्रेसको इतिहास, विचार र राजनीतिक विरासत बोकेका नेताहरूलाई पन्छाएर कसैले स्वघोषणाका आधारमा आधिकारिक पार्टीको दाबी गर्न नसक्ने बताएका हुन्।
उनले कांग्रेस निर्माणमा योगदान दिएका नेताहरू नै पार्टीबाट बाहिरिनुपर्ने अवस्था कसरी सिर्जना भयो भन्दै प्रश्नसमेत गरेका छन्।
कांग्रेस र लोकतन्त्रलाई कमजोर बनाउने उद्देश्यले कसैको नियोजित पात्रका रूपमा काम गर्नेहरूलाई पार्टीको वास्तविक उत्तराधिकारी मान्न नसकिने उनको भनाइ थियो।
“नेपाली कांग्रेस जसले निर्माण गर्यो, उसको नहुने, अनि कांग्रेस र प्रजातन्त्र कमजोर बनाउन कसैको नियोजित पात्र बन्छ, उसको कसरी हुन सक्छ ?” महतले प्रश्न गरे।
उनले नेपाली कांग्रेसका संस्थापक बीपी कोइराला, गणेशमान सिंह, महेन्द्रनारायण निधि र कृष्णप्रसाद भट्टराईको राजनीतिक विचार, इतिहास र विरासत आफूहरूले बोकेको दाबीसमेत गरेका छन्।
कांग्रेसभित्र महाधिवेशनको प्रक्रिया र आधिकारिकताको विषयलाई लिएर दुई पक्षबीच विवाद चर्किरहेका बेला महतको यो अभिव्यक्ति आएको हो।
प्रतिक्रिया दिनुहोस