प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) भारतको राजधानी नयाँ दिल्ली पुगेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा दुई दिने राजकीय भ्रमणका लागि उनी आइतबार (मंसिर ६) नयाँ दिल्ली आइपुगेका हुन्।
नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री शाहलाई भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद र भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेलगायतले स्वागत गरेका थिए।
प्रधानमन्त्री शाह आइतबार दिउँसो नेपाल एयरलाइन्सको नियमित उडानमार्फत काठमाडौंबाट नयाँ दिल्ली प्रस्थान गरेका थिए।
भ्रमणका क्रममा आइतबार नै भारतीय विदेशमन्त्री डा. एस जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ।
सोमबार प्रधानमन्त्री शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच एक्लाएक्लै (वान अन वान) भेटवार्ता हुनेछ। त्यसपछि दुवै देशका प्रतिनिधिमण्डलबीच द्विपक्षीय बैठक आयोजना गरिनेछ।
प्रतिनिधिमण्डलस्तरीय बैठकपछि नेपाल र भारतबीच विभिन्न समझदारीपत्र तथा सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ। त्यसलगत्तै दुवै देशका प्रधानमन्त्री संयुक्त प्रेस ब्रिफिङमा सहभागी हुनेछन्।
यसैगरी, प्रधानमन्त्री शाहले सोमबार नै भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ।
दुई दिने भ्रमणका सबै औपचारिक कार्यक्रम सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार साँझ स्वदेश फर्कने कार्यतालिका रहेको छ।
प्रतिक्रिया दिनुहोस