नेपाल र युरोपबीच व्यापार, प्रविधि, लगानी तथा पर्यटनका क्षेत्रमा नयाँ अवसर खोज्दै आर्थिक साझेदारीलाई थप मजबुत बनाउने उद्देश्यले लक्जेम्बर्गमा ‘नेपाल–युरोप टेक, ट्रेड एन्ड इन्भेस्टमेन्ट थिम्ड सेमिनार २०२६’ आयोजना हुने भएको छ।
आगामी नोभेम्बर २९ र ३० तारिख आयोजना हुने सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।
नेपाली व्यवसायी संघ युरोप (नेबा युरोप) को आयोजनामा डबलट्री बाई हिल्टन होटलमा हुने सम्मेलन बेल्जियम, नेदरल्यान्ड्स, लक्जेम्बर्ग तथा युरोपेली संघका लागि नेपाली राजदूतावासको संरक्षणमा आयोजना गर्न लागिएको हो।
‘नेपाल–युरोप साझेदारीका लागि सरकार, व्यवसाय र प्राज्ञिक क्षेत्रको सहकार्य’ भन्ने मूल अवधारणामा केन्द्रित सम्मेलनमा पाँच प्रमुख विषयलाई प्राथमिकताका साथ उठाइनेछ।
सम्मेलनमा नेपाली उत्पादनलाई युरोपेली बजारमा पुर्याउने सम्भावना, नेपालमा युरोपेली लगानी आकर्षित गर्ने वातावरण, प्रविधि हस्तान्तरण तथा डिजिटल क्षेत्रमा संयुक्त अवसर सिर्जना गर्ने विषयमा विशेष छलफल हुनेछ।
त्यसैगरी, नेपालको पर्यटन क्षेत्रको अन्तर्राष्ट्रिय प्रवर्द्धन र नेपाल तथा युरोपका व्यवसायीबीच प्रत्यक्ष व्यावसायिक सम्बन्ध विस्तारलाई पनि सम्मेलनको महत्त्वपूर्ण एजेन्डाका रूपमा समेटिएको छ।
सम्मेलनले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तार, विदेशी लगानी प्रवर्द्धन तथा प्रविधि र पर्यटन क्षेत्रमा नेपाल–युरोप सहकार्यका नयाँ सम्भावनाको खोजीमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस