२०८३, मंसिर ११ गते

बिहिवार, मंसिर ११ गते २०८३

भारतबाट नेपाललाई २ खर्ब ४० अर्बको विकास सहायता, ऊर्जा र पूर्वाधारमा विशेष सहकार्य

मंगलवार, मंसिर ९ २०८३०९:४५

भारतले नेपालको विपद्पछिको पुनर्निर्माण तथा नयाँ पूर्वाधार विकासका लागि २ खर्ब ४० अर्ब रुपैयाँबराबरको विकास सहायता उपलब्ध गराउने घोषणा गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको दुईदिने भारत भ्रमणका क्रममा जारी संयुक्त विज्ञप्तिमा उक्त सहायता प्याकेज सार्वजनिक गरिएको हो।

घोषित सहयोगमध्ये ५६ अर्ब रुपैयाँ अनुदान र १ खर्ब ८४ अर्ब रुपैयाँ ऊर्जा क्षेत्रका आयोजनाका लागि सहुलियतपूर्ण ऋणका रूपमा उपलब्ध गराइनेछ। अनुदान रकम विपद्पछिको पुनर्निर्माण तथा नयाँ पूर्वाधार निर्माणमा खर्च हुनेछ भने ऋण जलविद्युत् तथा ऊर्जा पूर्वाधारका आयोजनामा परिचालन गरिनेछ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको विकास यात्रामा भारतको निरन्तर साथ रहने प्रतिबद्धता व्यक्त गर्दै उक्त सहायता प्याकेज घोषणा गरेका हुन्। गत अगस्टमा नेपालमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले प्रभावित परिवारको जीवन सामान्य अवस्थामा फर्काउन, नयाँ अवसर सिर्जना गर्न र भविष्यका विपद्सँग जुध्ने नेपालको क्षमता अभिवृद्धि गर्न भारतले सहयोग गर्ने बताए।

अर्थविद् चन्द्रमणि अधिकारीले भने सहायता घोषणा हुनुलाई सकारात्मक रूपमा लिए पनि त्यसको वास्तविक उपलब्धि कार्यान्वयनबाट मात्रै मूल्यांकन गर्न सकिने बताएका छन्। विगतमा भएका विभिन्न सहमति तथा प्रतिबद्धता पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै उनले परियोजना सञ्चालन र खर्च गर्ने नेपालको क्षमतामा पनि ध्यान दिनुपर्ने बताए। भूकम्पका बेला घोषणा गरिएको सहयोगसमेत पूर्ण रूपमा प्राप्त हुन नसकेको उदाहरण दिँदै उनले प्रतिबद्धताभन्दा कार्यान्वयन महत्त्वपूर्ण हुने धारणा राखे।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले भने प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीचको आर्थिक सहकार्य र साझा समृद्धिको लक्ष्यलाई अघि बढाउन सहयोग पुग्ने बताएका छन्। उनका अनुसार बन्दरगाह प्रयोग, हवाई सम्पर्क विस्तार र व्यापारिक कनेक्टिभिटीका विषयमा भएका सहमतिले निजी क्षेत्रलाई थप आशावादी बनाएको छ।

जलविद्युत् र ऊर्जा पूर्वाधारमा सहकार्य विस्तार

नेपाल र भारतबीच ऊर्जा उत्पादन, प्रसारण पूर्वाधार तथा विद्युत् व्यापार विस्तारलाई प्राथमिकतामा राखेर सहकार्य अघि बढाउने सहमति भएको छ। भारतीय कम्पनीको सहभागितामा नेपालमा निर्माण भइरहेका जलविद्युत् आयोजना शीघ्र सम्पन्न गर्ने प्रतिबद्धता पनि दुवै पक्षले जनाएका छन्।

यसैक्रममा ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त रूपमा भर्चुअल शिलान्यास गरेका छन्। करिब ९२ अर्ब ६७ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ।

निर्माण–सञ्चालन–हस्तान्तरण (बुट) मोडलमा बन्ने आयोजनाबाट नेपालले २१ प्रतिशत विद्युत् निःशुल्क प्राप्त गर्नेछ। २५ वर्षपछि आयोजना नेपाल सरकारको स्वामित्वमा आउने व्यवस्था छ।

त्यसैगरी पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) शीघ्र अन्तिम रूप दिन तथा सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय आयोजनाको डीपीआर तयार गर्ने काम तीव्र बनाउन दुवै प्रधानमन्त्रीले निर्देशन दिएका छन्।

नेपालको इनरुवा–भारतको न्यु पूर्णिया र नेपालको दोधारा–भारतको बरेलीबीच उच्च क्षमताका दुई सीमापार विद्युत् प्रसारण लाइन निर्माण गर्न संयुक्त उद्यम कम्पनी गठन गर्ने प्रक्रियामा समेत प्रगति भएको छ।

पेट्रोलियम पाइपलाइन विस्तारमा सहमति

नेपाल–भारतबीच पेट्रोलियम पूर्वाधार विस्तारका विषयमा पनि महत्त्वपूर्ण सहमति भएको छ। दुवै प्रधानमन्त्रीले मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण नेपाली जनतालाई समर्पण गरेका छन्।

यसैगरी झापामा पेट्रोलियम टर्मिनल निर्माणको शिलान्यास गरिएको छ भने भारतको सिलिगुडीदेखि झापासम्म पेट्रोलियम पाइपलाइन निर्माणको काम शीघ्र सुरु गर्ने सहमति भएको छ। यसबाट नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति प्रणाली थप सहज र व्यवस्थित हुने अपेक्षा गरिएको छ।

बन्दरगाह र पारवहन सुविधा विस्तार

नेपालको वैदेशिक व्यापारलाई सहज बनाउन भारतले गुजरातस्थित दिनदयाल (काण्डला) बन्दरगाहमार्फत पारवहन सुविधा उपलब्ध गराउने भएको छ। आवश्यक पूर्वाधार निर्माणपछि ओडिशास्थित पारादीप बन्दरगाहसम्म पनि नेपालको पहुँच विस्तार गरिनेछ।

यसबाट तेस्रो मुलुकसँगको व्यापारका लागि नेपालले थप पारवहन विकल्प प्राप्त गर्नुका साथै ढुवानी लागत घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

त्यसैगरी सडक, पुल, सीमापार रेलमार्ग तथा एकीकृत जाँच चौकी निर्माणलगायत सीमा पूर्वाधार विकासमा सहकार्य गर्ने सहमति भएको छ। कञ्चनपुरको दोधारा चाँदनी–वनबासा क्षेत्रमा एकीकृत जाँच चौकी निर्माण प्रक्रिया अघि बढाइनेछ।

रेलमार्ग र हवाई सम्पर्क विस्तार

प्रस्तावित रक्सौल–काठमाडौं विद्युतीय ब्रोडगेज रेलमार्गको फिल्ड लोकेसन सर्वेक्षणलाई अन्तिम रूप दिइएको छ। नेपालको पूर्व–पश्चिम रेलमार्ग विकासमा समेत भारतले सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।

यसैगरी अयोध्या–जनकपुरबीच सरयू–कमला एक्सप्रेस रेल सेवा उद्घाटन गरिएको छ। हवाई सम्पर्क विस्तारअन्तर्गत काठमाडौं–भैरहवा–लखनउको विद्यमान एकतर्फी हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति भएको छ। यसका लागि आवश्यक प्राविधिक परामर्श र कार्यविधि तय गरिनेछ।

चितवनमा कृषि–औद्योगिक पार्क स्थापना गरिने

भारतको अनुदान सहयोगमा चितवनमा कृषि–औद्योगिक पार्क स्थापना गरिने भएको छ। यसबाट कृषि उत्पादनको प्रशोधन, मूल्य अभिवृद्धि तथा औद्योगिकीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

त्यसैगरी नेपालमा भारतीय प्रविधि संस्थानको अपतटीय क्याम्पस स्थापना गर्ने सहमति भएको छ। स्टार्टअप, डिजिटल सेवा, वित्तीय सम्पर्क तथा प्रविधि विकासका क्षेत्रमा पनि दुवै देशले सहकार्य विस्तार गर्ने प्रतिबद्धता जनाएका छन्।

बैंकिङ, दूरसञ्चार र अन्य क्षेत्रमा सहकार्य

नेपाल र भारतमा बसोबास गर्ने एकअर्का देशका नागरिकलाई बैंकिङ तथा दूरसञ्चार सेवा सहज रूपमा उपलब्ध गराउन दुवै पक्षले सहजीकरण गर्ने भएका छन्।

दिगो सहरी विकास, स्वास्थ्य, पशुपालन, मत्स्य विकास, आयुर्वेद तथा परम्परागत चिकित्सा प्रणालीलगायत विभिन्न क्षेत्रमा सहकार्य गर्ने विषयमा आठवटा समझदारीपत्र आदानप्रदान भएका छन्।

 

‘नेपालमा निर्धक्क लगानी गर्नुस्’ : अर्थमन्त्री वाग्ले

प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा दुईदिने राजकीय भ्रमणमा भारत पुगेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय उद्योगी तथा व्यवसायीलाई नेपालमा निर्धक्क भएर लगानी गर्न आह्वान गरेका छन्।

आइतबार नयाँदिल्लीस्थित होटल ताज प्यालेसमा भारतीय उद्योग परिसंघ (सीआईआई) ले आयोजना गरेको ‘इन्डिया–नेपाल बिजनेस राउन्डटेबल’लाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले सूचना प्रविधि, जलविद्युत् र कनेक्टिभिटीजस्ता सम्भावनायुक्त क्षेत्रमा लगानी विस्तार गर्न आग्रह गरेका हुन्।

उनले नेपालमा लगानी गरिरहेका भारतीय कम्पनीलाई आफ्नो लगानी थप विस्तार गर्नसमेत आग्रह गरे। नेपालमा लगानीका लागि अनुकूल वातावरण र पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै उनले नयाँ लगानीकर्तालाई अवसरको उपयोग गर्न आह्वान गरे।

अर्थमन्त्री वाग्लेले सरकारले लगानी अभिवृद्धिका लागि कानुनी तथा नीतिगत सुधारलाई सरल र लगानीमैत्री बनाउँदै लगेको जानकारी दिए। लगानीको सुरक्षा, प्रतिफलको सुनिश्चितता तथा नाफा फिर्ता लैजाने प्रक्रियालाई कानुनी रूपमा सहज बनाउन सरकारले विशेष पहल गरिरहेको उनको भनाइ थियो।

कार्यक्रममा भारतीय उद्योग वाणिज्य राज्यमन्त्री जितिन प्रसाद र सीआईआई अन्तर्राष्ट्रिय परिषद्का अध्यक्ष डा. विक्रमजित सिंह साहनीलगायतले पनि सम्बोधन गरेका थिए।

प्रधानमन्त्री शाहको भ्रमण टोलीमा सहभागी नेपाली उद्योगी तथा व्यवसायीका साथै डेढ दर्जनभन्दा बढी भारतीय उद्योगी, व्यवसायी र प्रतिष्ठित कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको कार्यक्रममा सहभागिता रहेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij