दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा विभागीय टोली त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। लगातार दोस्रो जित निकाल्ने क्रममा आर्मीले घरेलु टोली कर्णाली प्रदेशलाई ९७ रनले पराजित गरेको हो।
शुक्रबार सुर्खेतको वीरेन्द्रनगर क्रिकेट मैदानमा सम्पन्न समूह ‘ए’ को खेलमा आर्मीले दिएको १३९ रनको लक्ष्य पछ्याएको कर्णाली १३.१ ओभरमा ४१ रनमै समेटियो।
कर्णालीका जयन्ती चन्दले सर्वाधिक १० रन बनाइन्। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
कर्णालीको इनिङ्स ध्वस्त पार्ने क्रममा मनिषा उपाध्यायले चार विकेट लिइन्। यमुना थारुले तीन, कविता कुँवरले दुई तथा कप्तान लक्ष्मी साउदले एक विकेट हात पारिन्।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १३८ रन बनाएको थियो।
आर्मीका लागि सम्झना खड्काले उत्कृष्ट ब्याटिङ गर्दै ५८ बलमा १० चौकासहित सर्वाधिक ६२ रन बनाइन्। यशोदा विष्टले ३३ तथा कविता कुँवरले अविजित ११ रनको योगदान दिइन्।
कर्णालीका गंगा खड्का, रमा बुढाथोकी, सोना चन्द र कप्तान किरणकुमारी कुँवरले समान एक–एक विकेट लिए।
यस जितसँगै आर्मीले दुई खेलबाट चार अंक जोड्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ। यसअघि आर्मीले कोसी प्रदेशलाई पराजित गरेको थियो।
लगातार दुई खेलमा पराजित कर्णाली भने प्रतियोगिताबाट बाहिरिएको छ। उसलाई यसअघि कोसी प्रदेशले पनि हराएको थियो।
प्रतिक्रिया दिनुहोस