राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाहबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री शाह शुक्रबार शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन्।
भारतको दुईदिने भ्रमण सम्पन्न गरी स्वदेश फर्किएको पाँच दिनपछि प्रधानमन्त्री शाह राष्ट्रपतिसँग भेटका लागि पुगेका हुन्। भारत भ्रमणमा जानुअघि राष्ट्रपतिसँग भेट नगरेको विषयले यसअघि राजनीतिक वृत्तमा चर्चा पाएको थियो।
शुक्रबार नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका थिए। लामिछानेको भेटपछि प्रधानमन्त्री शाह पनि शीतल निवास पुगेका हुन्।
राष्ट्रपति कार्यालयका अनुसार भेटमा प्रधानमन्त्रीको भारत भ्रमण, अध्यादेश, सरकारका कामकारबाही तथा मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको थियो।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार प्रधानमन्त्री शाहले गत मंसिर ६ र ७ गते भएको भारत भ्रमणका क्रममा भएका गतिविधि तथा उपलब्धिबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए।
सो अवसरमा मुलुकका अन्य समसामयिक विषयमा समेत विचारविमर्श भएको प्रेस सल्लाहकार पोखरेलले जानकारी दिएका छन्।
प्रतिक्रिया दिनुहोस