२०८३, मंसिर १२ गते

शुक्रवार, मंसिर १२ गते २०८३

प्रधानमन्त्री बालेनको भारत भ्रमण : सीमा विवाददेखि व्यापार घाटासम्मका मुद्दा उठाउनुपर्ने चुनौती

सोमवार, मंसिर १ २०८३०७:२२

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको आगामी भारत भ्रमणलाई नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थप्ने अवसरका रूपमा हेरिएको छ। प्रधानमन्त्री शाह मंसिर ६ देखि ९ गतेसम्म भारतको औपचारिक भ्रमणमा जाने तयारीमा छन्। सरकारको नेतृत्व सम्हालेको साढे आठ महिनापछि हुन लागेको यो उनको पहिलो औपचारिक विदेश भ्रमण हो।

भ्रमणको मिति र भेटघाटको कार्यतालिका दुवै देशले औपचारिक रूपमा सार्वजनिक गरिसकेका छैनन्। यद्यपि, नेपाल र भारतका परराष्ट्र मन्त्रालयले भ्रमणको तयारी तीव्र बनाएका छन्। भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ।

नेपालका लागि भारतसँगको सम्बन्ध राजनीतिक, आर्थिक, व्यापारिक, सुरक्षा तथा रणनीतिक दृष्टिले निकै महत्त्वपूर्ण छ। तर, यही सम्बन्धमा लामो समयदेखि थाती रहेका सीमा विवाद, प्रबुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदन, असन्तुलित व्यापार, हवाई प्रवेशमार्ग र जलस्रोतको उपयोगजस्ता विषय अझै समाधान हुन सकेका छैनन्। त्यसैले प्रधानमन्त्री शाहको भ्रमणलाई औपचारिक भेटघाटमा मात्र सीमित नगरी राष्ट्रिय हितसँग जोडिएका मुद्दामा ठोस उपलब्धि हासिल गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने आवश्यकता छ।

विशेषगरी कालापानी, लिपुलेक, लिम्पियाधुरा र सुस्तासम्बन्धी सीमा विवादलाई उच्च कूटनीतिक प्राथमिकताका साथ उठाउनुपर्ने देखिन्छ। ऐतिहासिक दस्ताबेज, सन्धि–सम्झौता र प्रमाणका आधारमा समस्या समाधान गर्न द्विपक्षीय उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गरी नियमित वार्ताको व्यवस्था गर्न नेपालले पहल गर्नुपर्ने जानकारहरूको सुझाव छ।

त्यस्तै, सन् २०१८ मा तयार भएको इपिजी प्रतिवेदन अझै दुवै देशका प्रधानमन्त्रीसमक्ष औपचारिक रूपमा प्रस्तुत हुन सकेको छैन। नेपाल–भारत सम्बन्धलाई समयानुकूल र समानतामा आधारित बनाउन गठित समूहको प्रतिवेदन लामो समयसम्म कार्यान्वयनविहीन रहनु उचित नहुने कूटनीतिक क्षेत्रका जानकारहरूको धारणा छ। सन् १९५० को शान्ति तथा मैत्री सन्धिलगायत असमान महसुस गरिएका प्रावधान पुनरवलोकन गर्ने विषयलाई पनि नेपालले प्राथमिकताका साथ उठाउनुपर्ने उनीहरूको सुझाव छ।

राष्ट्रिय हित र आर्थिक सन्तुलनमा केन्द्रित

पूर्वअर्थमन्त्री तथा पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले नेपाल र भारतबीचको सम्बन्ध ऐतिहासिक, भौगोलिक, आर्थिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण रहेकाले प्रधानमन्त्रीको भ्रमणका लागि पर्याप्त गृहकार्य आवश्यक रहेको बताएका छन्।

उनका अनुसार भ्रमणलाई औपचारिक राजनीतिक भेटघाट र परियोजना उद्घाटनमा मात्र सीमित नगरी दुई देशबीच विश्वासको वातावरण निर्माण गर्ने तथा विगतका सहमति कार्यान्वयन गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्छ।

महतले व्यापार घाटा न्यूनीकरण, नेपाली उत्पादनको निर्यात प्रवद्र्धन, सीमा समस्या समाधान र आर्थिक सहकार्य विस्तारलाई भ्रमणको प्रमुख प्राथमिकता बनाउनुपर्ने बताए।

नेपालको राष्ट्रिय हित र सार्वभौमिकतामा सम्झौता नगरी भारतसँग मित्रवत्, सन्तुलित र व्यावहारिक सम्बन्ध अघि बढाउनुपर्ने उनको भनाइ छ। ‘भारतसँगको व्यापार घाटा न्यूनीकरण र सीमापार व्यापारमा देखिएका समस्या समाधानका लागि पनि भ्रमणअघि नै राम्रो गृहकार्य गर्नुपर्छ,’ उनले भने।

उनले सीमा विवाद, इपिजी प्रतिवेदन, आर्थिक असमानता र हवाई प्रवेशमार्गजस्ता संवेदनशील विषयलाई प्रधानमन्त्री शाहले कूटनीतिक कौशलका साथ उठाउनुपर्ने बताए। सीमा समस्या भावनात्मक उत्तेजनाभन्दा तथ्य, प्रमाण, ऐतिहासिक दस्ताबेज र संवादका आधारमा समाधान गर्नुपर्ने उनको सुझाव छ।

महतका अनुसार नेपालको व्यापार घाटा घटाउन आयात नियन्त्रण मात्र पर्याप्त हुँदैन। स्वदेशी उत्पादन र निर्यात क्षमता वृद्धि गर्नु यसको दीर्घकालीन समाधान हो।

विशेषगरी कृषि उत्पादन, जडीबुटी, चिया, कफी, अलैंची, तयारी खाद्यवस्तु, सिमेन्ट तथा जलविद्युत्लगायतका उत्पादन भारतीय बजारमा विस्तार गर्नुपर्ने आवश्यकता छ। नेपाली उत्पादनलाई भारतीय बजारमा सहज प्रवेश, गुणस्तर परीक्षण तथा प्रमाणीकरणको मान्यता, भन्सार प्रक्रिया सरलीकरण र गैरभन्सार अवरोध हटाउने विषयमा ठोस सहमति गर्नुपर्ने उनको सुझाव छ।

नेपाल र भारतको अर्थतन्त्रको आकार, उत्पादन क्षमता तथा प्रतिस्पर्धात्मक अवस्था समान नभएकाले औपचारिक समान व्यवहारले मात्र आर्थिक समानता सुनिश्चित गर्न नसक्ने महतको भनाइ छ। नेपाली कृषि तथा औद्योगिक उत्पादनलाई विशेष सुविधा, लगानी आकर्षण र प्रविधि हस्तान्तरणमार्फत प्रोत्साहन गर्नुपर्ने उनले बताए।

भारतसँग साढे नौ खर्बभन्दा बढी व्यापार घाटा

नेपालको आर्थिक सम्बन्धमा सबैभन्दा ठुलो चुनौती भारतसँगको बढ्दो व्यापार घाटा हो। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०२५/२६ मा भारतसँग नेपालको व्यापार घाटा करिब ९ खर्ब ५१ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ।

उक्त अवधिमा भारतबाट करिब १२ खर्ब १० अर्ब रुपैयाँबराबरका वस्तु आयात हुँदा नेपालबाट करिब २ खर्ब ५८ अर्ब ६५ करोड रुपैयाँबराबरको मात्र निर्यात भएको छ। यसले दुई देशबीचको व्यापारमा रहेको असन्तुलन स्पष्ट पार्छ।

नेपालको कुल वैदेशिक व्यापारमा भारतको हिस्सा ६३ प्रतिशतभन्दा बढी रहेको छ। यस्तो अवस्थामा भारतसँगको व्यापार सम्बन्ध सन्तुलित बनाउन नसके नेपालको औद्योगिक विकास र आर्थिक आत्मनिर्भरता प्रभावित हुने विज्ञहरूको बुझाइ छ।

व्यापार घाटा न्यूनीकरणका लागि नेपाली उत्पादनलाई भारतीय बजारमा सहज पहुँच दिलाउने, गुणस्तर प्रमाणीकरण सरल बनाउने र दीर्घकालीन बजार सुनिश्चित गर्ने विषयमा भारतसँग ठोस समझदारी आवश्यक छ।

भारत नेपालको प्रमुख व्यापारिक साझेदार भएकाले तत्काल परनिर्भरता अन्त्य गर्नेभन्दा स्वदेशी उत्पादन वृद्धि, बजार विविधीकरण र पारस्परिक लाभमा आधारित आर्थिक सहकार्य विस्तार गर्नु नेपालको हितमा हुनेछ।

जलस्रोत र ऊर्जा व्यापारमा ठोस सहकार्यको आवश्यकता

नेपालको आर्थिक समृद्धिको महत्त्वपूर्ण आधार जलस्रोत भएकाले जलविद्युत् उत्पादन, भारतीय लगानी र विद्युत् निर्यातको बजार सुनिश्चित गर्ने विषयलाई पनि प्रधानमन्त्रीको भ्रमणमा प्राथमिकता दिनुपर्ने देखिन्छ।

भारत र बंगलादेश नेपाली विद्युत्का महत्त्वपूर्ण सम्भावित बजार हुन्। त्यसैले सीमापार प्रसारण लाइन विस्तार, दीर्घकालीन विद्युत् खरिद सम्झौता र क्षेत्रीय ऊर्जा व्यापारलाई सहज बनाउने विषयमा ठोस सहमति आवश्यक छ।

पञ्चेश्वर र बुढीगण्डकीजस्ता बहुउद्देश्यीय आयोजनालाई लागत, पानी, ऊर्जा तथा सिँचाइबाट प्राप्त हुने लाभको न्यायोचित बाँडफाँट सुनिश्चित गर्दै अघि बढाउनुपर्ने आवश्यकता छ।

वर्षौंदेखि चर्चामा रहे पनि पञ्चेश्वर आयोजना अघि बढ्न नसक्नु र विद्युत् व्यापारमा अपेक्षित सहजता नहुनुले नेपालको जलस्रोतको सम्भावना पूर्ण रूपमा उपयोग हुन सकेको छैन। विद्युत् निर्यात, प्रसारण लाइन विस्तार, जलविद्युत्मा लगानी तथा तेस्रो मुलुकसम्म विद्युत् व्यापारको पहुँच सुनिश्चित गर्न प्रधानमन्त्रीको भ्रमण उपयोगी बन्नुपर्ने विज्ञहरूको सुझाव छ।

त्यस्तै, बाढीपहिरोबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण र नयाँ जलविद्युत् आयोजना विकासमा भारतसँग दीर्घकालीन सहकार्य विस्तार गर्नुपर्ने आवश्यकता छ।

भैरहवा र पोखरा विमानस्थलका लागि थप हवाई प्रवेशमार्ग

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ठुलो लगानी भए पनि उपयुक्त अन्तर्राष्ट्रिय हवाई प्रवेशमार्गको अभावका कारण दुवै विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन्।

पूर्वअर्थमन्त्री महतले यी विमानस्थलको प्रभावकारी सञ्चालनका लागि भारतसँग पूर्व र पश्चिम दुवैतर्फ थप हवाई प्रवेशमार्ग उपलब्ध गराउने विषयलाई उच्च राजनीतिक प्राथमिकतामा राख्नुपर्ने बताए।

हवाई प्रवेशमार्ग विस्तारले नेपालको पर्यटन, अन्तर्राष्ट्रिय व्यापार, लगानी तथा सेवा क्षेत्रको विकासमा प्रत्यक्ष योगदान पुर्‍याउने उनको भनाइ छ। भारतसँग हवाई मार्ग विस्तार हुन नसक्दा नेपालले ठुलो आर्थिक अवसर गुमाइरहेको उनले बताए।

‘भारतसँगको सम्बन्धलाई ऐतिहासिक सापेक्षतामा भविष्यमुखी भएर हेर्नुपर्छ भन्ने मेरो सुझाव छ,’ महतले भने, ‘करिब एक हजार ८५० किलोमिटर खुला सीमा भएको भारतसँगको सम्बन्ध अरू देशसँगको भन्दा निकै फरक छ। त्यसैले भारतसँगको सम्बन्धलाई राम्रो किसिमले नसल्टाएसम्म आन्तरिक अर्थराजनीतिमा पर्ने प्रभावलाई समाधान गर्न सकिँदैन।’

उनले क्षणिक प्रचारभन्दा माथि उठेर राष्ट्रिय हितलाई केन्द्रमा राखी प्रधानमन्त्रीले काम गर्नुपर्नेमा जोड दिए।

विज्ञहरूका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ मा नेपाल भ्रमणका क्रममा गरेका कतिपय प्रतिबद्धता अझै कार्यान्वयन हुन सकेका छैनन्। विगतमा भएका सहमति तथा सम्झौताअनुसारका परियोजना अघि बढाउन प्रधानमन्त्री शाहले भारतसँग पहल गर्नुपर्ने उनीहरूको सुझाव छ। प्रतिबद्धता गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्ति दोहोरिए दुई देशबीचको विश्वासमा असर पर्न सक्ने उनीहरूको भनाइ छ।

पुनर्निर्माणका लागि दुई अर्ब डलर सहायता प्रस्ताव

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपालले गत भदौमा आएको बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा ठुला पूर्वाधार विकासका लागि करिब दुई अर्ब अमेरिकी डलरबराबरको आर्थिक सहायता उपलब्ध गराउन भारतसँग प्रस्ताव गर्ने तयारी गरेको छ।

जलस्रोतको अधिकतम उपयोग, दीर्घकालीन विद्युत् व्यापार विस्तार, सीमापार प्रसारण लाइन निर्माण, तल्लो अरुण जलविद्युत् आयोजना र लामो समयदेखि अलपत्र पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई गति दिने विषय पनि भ्रमणको कार्यसूचीमा समेटिने तयारी छ।

नेपालले पुनर्निर्माण र पूर्वाधार विकासका लागि भारतको सहयोग खोजिरहँदा सहायता रकमको स्वरूप, सर्त र कार्यान्वयन प्रक्रियालाई पनि राष्ट्रिय हितअनुकूल बनाउनुपर्ने देखिन्छ।

तीन वर्षदेखि अलपत्र क्युआर भुक्तानी सम्झौता कार्यान्वयनको अपेक्षा

नेपाल–भारत आर्थिक सम्बन्धमा डिजिटल भुक्तानीको विषय पनि महत्त्वपूर्ण रूपमा उठाउनुपर्ने देखिन्छ। नेपालीले भारतमा क्युआर प्रणालीमार्फत भुक्तानी गर्न पाउने व्यवस्था गर्न तीन वर्षअघि सम्झौता भए पनि त्यसको पूर्ण कार्यान्वयन हुन सकेको छैन।

हाल भारतीय नागरिकले नेपालमा क्युआरमार्फत भुक्तानी गर्न सक्ने व्यवस्था छ। तर नेपाली नागरिकले भारतमा त्यही सुविधा सहज रूपमा प्रयोग गर्न पाएका छैनन्।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा २०८० जेठ १८ गते दुई देशबीच सीमापार डिजिटल भुक्तानी सेवा सञ्चालन गर्ने सम्झौता भएको थियो। प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीको उपस्थितिमा भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपिसिआई) र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) बीच भुक्तानी प्रणाली जोड्ने समझदारी भएको थियो।

गत जेठमा परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमणका क्रममा पनि अन्तरदेशीय डिजिटल भुक्तानी सेवा विस्तार गर्ने सहमति भएको थियो। त्यस क्रममा डिजिटल माध्यमबाट व्यक्ति–व्यक्तिबीच रकम आदानप्रदान गर्न सकिने व्यवस्थाबारे समझदारी भएको थियो।

सम्झौताअनुसार भारतीय नागरिकले प्रतिकारोबार १५ हजार र मासिक एक लाख भारुसम्म रकम पठाउन सक्ने व्यवस्था छ। त्यस्तै, भारतमा रहेका नेपाली तथा भारतीय नागरिकले नेपाली बैंक खातामा प्रतिकारोबार दुई लाख भारुसम्म रकम पठाउन सक्ने व्यवस्था रहेको छ।

तर व्यक्ति तथा व्यवसायबीचको कारोबार र नेपालीले भारतमा डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था अझै कार्यान्वयनको प्रक्रियामै रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

त्यसैले प्रधानमन्त्री शाहको भ्रमणमा यसअघि भएका सम्झौता कार्यान्वयनको विषयलाई प्राथमिकताका साथ उठाउनुपर्ने देखिन्छ।

चार मन्त्रीसहित ४० सदस्यीय प्रतिनिधिमण्डलको तयारी

प्रधानमन्त्री शाहको भारत भ्रमणमा चार मन्त्रीसहित करिब ३६ देखि ४० जनाको प्रतिनिधिमण्डल सहभागी हुने तयारी छ।

भ्रमण टोलीमा परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल सहभागी हुनेछन्।

प्रधानमन्त्री शाहको पहिलो औपचारिक विदेश भ्रमण भएकाले यसलाई दुई देशबीचको सम्बन्ध सुधार्ने अवसरका रूपमा मात्र नभई नेपालको राष्ट्रिय हित, आर्थिक समृद्धि र कूटनीतिक सन्तुलनलाई नयाँ दिशा दिने अवसरका रूपमा हेरिएको छ।

सीमा विवाद, व्यापार घाटा, जलस्रोत, हवाई प्रवेशमार्ग, डिजिटल भुक्तानी र विगतका सम्झौता कार्यान्वयनजस्ता विषयमा ठोस उपलब्धि हासिल गर्न सके भ्रमण सार्थक बन्न सक्छ। अन्यथा विगतका भ्रमणमा जस्तै प्रतिबद्धता र आश्वासनमै सीमित हुने जोखिम पनि उत्तिकै छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij