राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री तथा चीन भ्रमण टोलीका प्रमुख विपिनकुमार आचार्यले चीन भ्रमणका क्रममा भएका राजनीतिक संवाद, भेटवार्ता र अवलोकनबारे पार्टी सभापति रवि लामिछानेलाई जानकारी गराएका छन्।
चीन भ्रमण सम्पन्न गरी बिहीबार स्वदेश फर्किएका आचार्यले शुक्रबार सभापति लामिछानेसँग भेट गरी भ्रमणको उपलब्धि र छलफलका विषयमा विस्तृत ब्रिफिङ गरेका हुन्।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा नोभेम्बर १५ देखि चीन भ्रमणमा गएको आचार्य नेतृत्वको २० सदस्यीय टोलीले सिचुवान, चच्याङ र बेइजिङको भ्रमण गरेको थियो।
भेटका क्रममा आचार्यले सीपीसीका वरिष्ठ नेता ली शुलेईसँग भएको उच्चस्तरीय राजनीतिक संवादबारे विशेष जानकारी गराएका थिए। केन्द्रीय तहदेखि काउन्टीस्तरसम्मका चिनियाँ नेताहरूसँग भएका छलफलमा दुई पार्टीबीचको सम्बन्ध विस्तार, राजनीतिक विश्वास अभिवृद्धि, नीतिगत तथा सांगठनिक अनुभव आदानप्रदान र सुशासन एवं विकासमा सहकार्यका विषयले प्राथमिकता पाएका थिए।
त्यसैगरी, भ्रमण टोलीले चीनका विभिन्न औद्योगिक तथा व्यापारिक प्रतिष्ठान, विश्वविद्यालय र सांस्कृतिक सम्पदाको अवलोकन गरेको थियो। विपद्पूर्व तयारी, विपद्पछिको व्यवस्थापन, भूकम्पपछिको पुनर्निर्माण, नेपाली उत्पादनको चिनियाँ बजारमा पहुँच तथा नेपालमा चिनियाँ लगानीका सम्भावनाबारे समेत छलफल भएको आचार्यले जानकारी गराएका थिए।
ब्रिफिङपछि सभापति लामिछानेले भ्रमणका क्रममा स्थापित राजनीतिक सम्बन्ध र प्राप्त अनुभवलाई पार्टी संगठन तथा देशको विकासमा उपयोग गर्न निर्देशन दिएका छन्।
उनले चीन भ्रमणका क्रममा भएका छलफल र सिकाइलाई औपचारिकतामा सीमित नराखी ठोस योजना तथा कार्यान्वयनमा रूपान्तरण गर्न भ्रमण टोलीलाई आग्रह गरेको बताइएको छ।
प्रतिक्रिया दिनुहोस