झापा कारागारमा निर्धारित क्षमताभन्दा दोब्बरभन्दा बढी कैदीबन्दी राखिएका छन्। करिब छ दशक पुरानो भवन, साँघुरा कोठा र सीमित पूर्वाधारका कारण कैदीबन्दीहरू असहज अवस्थामा बस्न बाध्य भएका छन्।
कारागार प्रमुख पूर्णबहादुर खत्रीका अनुसार हाल कारागारमा कैदी र थुनुवा गरी कुल एक हजार ७१० जना रहेका छन्। तीमध्ये ९२९ जना कैदी र ७८१ जना थुनुवा छन्।
लैंगिक आधारमा कारागारमा एक हजार ६२६ जना पुरुष र ८४ जना महिला रहेका छन्। महिला तथा पुरुषका लागि छुट्टाछुट्टै भवनको व्यवस्था गरिएको कारागार प्रशासनले जनाएको छ।
कारागारभित्र ६५ वर्षमाथिका २४ जना ज्येष्ठ नागरिक, एक गर्भवती महिला र एक आश्रित नाबालकसमेत रहेका छन्। त्यस्तै, कारागारमा १९ जोडी विवाहित कैदीबन्दी रहेको प्रमुख खत्रीले जानकारी दिएका छन्।
राष्ट्रियता अनुसार कारागारमा १२२ जना भारतीय र २९ जना भुटानी नागरिकले कैद तथा थुनुवा जीवन बिताइरहेका छन्।
पुरानो संरचना र क्षमताभन्दा अत्यधिक कैदीबन्दीको चापले कारागारको आवास, सरसफाइ तथा आधारभूत सुविधाको व्यवस्थापनमा चुनौती थपिएको छ।
प्रतिक्रिया दिनुहोस