नेपाली चलचित्र क्षेत्रका सदाबहार नायक तथा सुपरस्टार भुवन केसी र मेगास्टार अनमोल केसीलाई सुदूरपश्चिममा भव्य स्वागत तथा सम्मान गरिएको छ।
ए.एस. उडान फिल्म प्रोडक्सन, सुदूरपश्चिम कला प्रतिष्ठान र सुदूरपश्चिम कलाकार सङ्घको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा भुवन केसी, अनमोल केसी तथा सुपरहिट चलचित्र ‘बाटुलो जून’ की नायिका प्रिन्सी खतिवडालाई स्वागत गरिएको हो।
कार्यक्रममा आयोजक संस्थाका पदाधिकारी, कार्यसमिति सदस्य, कलाकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। सो अवसरमा आयोजित बैठकमा अतिथिहरूले माइन्युटमा हस्ताक्षरसमेत गरेका थिए।
कार्यक्रममा ए.एस. उडान फिल्म प्रोडक्सनका निर्माता तथा निर्देशक, सुदूरपश्चिम कला प्रतिष्ठानका अध्यक्ष एवं सुदूरपश्चिम कलाकार सङ्घका प्रदेश अध्यक्ष अम्बिका प्रसाद आचार्यले अतिथिहरूलाई स्वागत गर्दै नेपाली चलचित्र क्षेत्रको विकास र कलाकारबीचको आपसी सम्बन्धलाई थप सुदृढ बनाउन यस्ता भेटघाट तथा कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
सुदूरपश्चिमका प्रथम नायक तथा वरिष्ठ कलाकारसमेत रहेका आचार्यले स्थानीय कला, संस्कृति र प्रतिभाको प्रवर्द्धन गर्दै चलचित्र क्षेत्रलाई राष्ट्रियस्तरमा थप पहिचान दिलाउने उद्देश्यले आफूहरू सक्रिय रहेको बताए।
२०८३ मङ्सिर ४ गते आयोजित उक्त भेटघाटले नेपाली चलचित्र क्षेत्रका स्थापित कलाकार र सुदूरपश्चिमका कलाकार तथा चलचित्रकर्मीबीच आपसी सद्भाव, सहकार्य र अनुभव आदानप्रदानको वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस