नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूलाई पक्राउ गर्न आउँदा हतकडीसहित आउन सरकारलाई चुनौती दिएका छन्। आफूविरुद्ध हुने अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउँदै उनले कानुनअनुसार अनुसन्धान र कारबाही गर्न सरकारलाई आग्रह गरेका हुन्।
मंगलबार (मंसिर ८) पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै थापाले नेपाली कांग्रेस कुनै पनि अनुसन्धानको बाधक नबन्ने स्पष्ट पारे। आफू वा पार्टीका अन्य कुनै नेताविरुद्ध अनुसन्धान भए पनि त्यसमा अवरोध नगर्ने उनको भनाइ थियो।
तर, राज्यका निकायलाई सत्ताको स्वार्थअनुसार प्रयोग नगर्न उनले सरकारलाई चेतावनी दिए। राज्यका संयन्त्र सत्य र न्यायको पक्षमा उभिनुपर्ने उनको धारणा थियो।
सरकारका गलत कदमको विरोध गर्नु आफ्नो राजनीतिक दायित्व भएको उल्लेख गर्दै थापाले विगतमा पनि विभिन्न चुनौती र मुद्दाको सामना गर्दै आएको स्मरण गरे। राजाको शासनकालमा आफूले राजद्रोहको मुद्दा खेपेको र माओवादी द्वन्द्वका क्रममा समेत कठिन परिस्थितिको सामना गरेको उनले बताए।
कांग्रेस सहभागी केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारका गलत कामको समेत आफूले विरोध गरेको उनले उल्लेख गरे। पछिल्लो समय व्यक्तिगत जीवनमै असर पर्ने गरी प्रश्न उठाउने र सामाजिक सञ्जालमार्फत भय सिर्जना गर्ने प्रयास भइरहेको उनको टिप्पणी थियो।
“व्यक्तिगत जीवनमा समेत प्रश्नका कारण समस्या आएको छ। तर, प्रश्न गर्न सुरु गरेको थिएँ, अडियो आयो। पक्राउ गर्न आउँदा खाली हात नआउनुहोला, हतकडी लिएर आउनुहोला। प्रश्न गर्न छोड्दिनँ, तर्साएर तर्सिने मान्छे होइन,” उनले भने।
यसैबीच, थापाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग पार्टीको १५औँ महाधिवेशनपछि हालसम्म पाँचपटक भेट भएको जानकारी दिए। प्रदेश सरकारको समीकरणका विषयमा ओलीसँग भेटवार्ता हुँदै आएको उनले बताए।
मधेस प्रदेश सरकारको समीकरणका विषयमा भने ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पुनः छलफल गर्नुपर्ने अवस्था रहेको थापाले बताए।
प्रतिक्रिया दिनुहोस