प्रधानमन्त्री बालेन्द्र शाह भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी सोमबार साँझ स्वदेश फर्किएका छन्। उनी नेपाल वायुसेवाको नियमित उडानमार्फत नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं आइपुगेका हुन्।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय द्विपक्षीय वार्ता गरेका थिए। उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि शिष्टाचार भेटवार्ता गरेका थिए।
प्रधानमन्त्री शाहको भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। शिक्षा तथा अनुसन्धान, सुरक्षा, निजामती कर्मचारीको क्षमता अभिवृद्धि, आयुर्वेद तथा परम्परागत चिकित्सा, भूउपग्रह सञ्चार सञ्जाल, दिगो सहरी विकास, स्वास्थ्य तथा चिकित्सा र पशुपालन तथा मत्स्यपालनका क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको हो।
त्यसैगरी, भ्रमणका क्रममा दुई देशबीच विकास साझेदारी, ऊर्जा, पारवहन, हवाई सम्पर्क विस्तार तथा पूर्वाधार विकासका विषयमा समेत छलफल भएको थियो।
प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह तथा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सरकारी अधिकारी सहभागी थिए।
सरकारी अधिकारी, व्यवसायी र पत्रकारसहित प्रधानमन्त्रीको भ्रमण टोलीमा कुल ३५ सदस्य रहेका थिए।
प्रतिक्रिया दिनुहोस