२०८३, मंसिर १२ गते

शुक्रवार, मंसिर १२ गते २०८३

भारतद्वारा काठमाडौं–भैरहवा–लखनऊ हवाई रुट दुईतर्फी सञ्चालन गर्न सहमति

सोमवार, मंसिर ८ २०८३०८:२४

लामो समयदेखि नेपालले माग गर्दै आएको काठमाडौं–भैरहवा–लखनऊ हवाई रुटलाई दुवैतर्फी सञ्चालन गर्न भारत सहमत भएको छ। यससँगै भारतको लखनऊ हुँदै भैरहवा प्रवेश गरेर नेपाल आउने अन्तर्राष्ट्रिय उडानका लागि समेत बाटो खुल्ने भएको छ।

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको द्विपक्षीय वार्तापछि जारी संयुक्त प्रेस वक्तव्यमा हाल एकतर्फी सञ्चालनमा रहेको बी–३४५ काठमाडौं–भैरहवा–लखनऊ हवाई मार्गलाई द्विदिशात्मक बनाउने सहमति भएको उल्लेख छ।

दुई देशबीच हवाई सम्पर्क विस्तार तथा आर्थिक गतिविधि बढाउने उद्देश्यले उक्त सहमति गरिएको वक्तव्यमा जनाइएको छ। यसका लागि आवश्यक कार्यविधि, प्राविधिक व्यवस्था र अन्य प्रक्रियालाई अन्तिम रूप दिन दुवै देशका अधिकारीबीच थप प्राविधिक परामर्श हुने जनाइएको छ। नागरिक उड्डयन क्षेत्रका अन्य छलफलमा रहेका प्रस्तावलाई पनि यही प्रक्रियामार्फत टुङ्ग्याइने भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक हरिभक्त श्रेष्ठका अनुसार नेपालले लामो समयदेखि माग गर्दै आएको यो हवाई मार्ग उपलब्ध गराउन भारत सकारात्मक देखिएको थियो।

के हो बी–३४५ हवाई रुट ?

बी–३४५ काठमाडौंलाई भैरहवा हुँदै भारतको लखनऊसँग जोड्ने अन्तर्राष्ट्रिय हवाई मार्ग हो। यसअघि यो मार्गबाट नेपालबाट भारततर्फ जाने उडानले मात्र लखनऊ खण्ड प्रयोग गर्न पाउने व्यवस्था थियो। भारतबाट भैरहवा हुँदै नेपाल प्रवेश गर्ने उडानका लागि भने अनुमति थिएन।

अब उक्त मार्गलाई दुवैतर्फी बनाउने सहमतिसँगै लखनऊबाट भैरहवा हुँदै काठमाडौं प्रवेश गर्ने अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि आधार तयार भएको छ।

श्रेष्ठका अनुसार यसले विशेषगरी पश्चिम नेपालका अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सञ्चालन गर्न चाहने वायुसेवा कम्पनीलाई सहजता प्रदान गर्नेछ।

किन आवश्यक थियो थप हवाई प्रवेशमार्ग ?

नेपालले सन् २००९ देखि नै अन्तर्राष्ट्रिय उडानका लागि थप हवाई प्रवेशमार्ग उपलब्ध गराउन भारतसँग आग्रह गर्दै आएको थियो। विशेषगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा) र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण तथा सञ्चालनमा आएपछि पश्चिम नेपालबाट सीधा प्रवेश गर्न मिल्ने हवाई मार्गको आवश्यकता थप बढेको थियो।

प्राधिकरणका अर्का पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनका अनुसार हाल भारतबाट नेपाल प्रवेश गर्ने अधिकांश अन्तर्राष्ट्रिय उडानले सिमरा हुँदै नेपाली आकाशमा प्रवेश गर्नुपर्ने अवस्था छ।

पश्चिमबाट आउने विमानले भैरहवा वा पोखरामा अवतरण गर्नुपर्दा पहिले पूर्वतर्फ सिमरासम्म पुगेर पुनः पश्चिम फर्किनुपर्ने बाध्यता छ। यसरी भैरहवा अवतरण गर्ने विमानले करिब ३०० किलोमिटर अतिरिक्त दूरी पार गर्नुपर्ने अवस्था रहेको सुमन बताउँछन्।

उनका अनुसार विमानस्थल निर्माण र भौतिक पूर्वाधार विकाससँगै अन्तर्राष्ट्रिय उडानका लागि सहज प्रवेशमार्ग उपलब्ध हुनु पनि उत्तिकै आवश्यक छ।

भैरहवा र पोखरा विमानस्थललाई के फाइदा ?

बी–३४५ हवाई मार्ग दुईतर्फी सञ्चालनमा आएपछि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा पश्चिमबाट आउने विमानका लागि थप प्रवेशमार्ग उपलब्ध हुनेछ। यसले विशेषगरी मध्यपूर्व तथा पश्चिमी गन्तव्यबाट आउने विमानलाई सिमरा हुँदै लामो दूरी घुम्नुपर्ने बाध्यता कम गर्न सहयोग पुग्ने श्रेष्ठको भनाइ छ।

उडान दूरी घट्दा वायुसेवा कम्पनीको इन्धन खर्च, उडान समय तथा सञ्चालन लागत कम हुन सक्छ। यसबाट यात्रुले पनि छोटो समयमै गन्तव्यमा पुग्ने सुविधा पाउने अपेक्षा गरिएको छ।

भैरहवा विमानस्थलको अन्तर्राष्ट्रिय उडान विस्तार हुँदा लुम्बिनी भ्रमणमा आउने विदेशी पर्यटकलाई समेत प्रत्यक्ष लाभ पुग्न सक्ने श्रेष्ठ बताउँछन्। विदेशी पर्यटकले भैरहवालाई नै प्रवेश गन्तव्य बनाउन सक्ने सम्भावना बढ्ने उनको भनाइ छ।

यसले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारका लागि पनि सकारात्मक वातावरण निर्माण गर्न सक्ने अपेक्षा गरिएको छ।

महेन्द्रनगरको हवाई रुट भने अझै अन्योलमा

नेपालले भारतसँग माग गर्दै आएको अर्को महत्त्वपूर्ण हवाई मार्ग महेन्द्रनगर हुँदै भारतको दिल्ली जोड्ने एल–६२६ रुट हो। यो बी–३४५ भन्दा फरक मार्ग हो।

एल–६२६ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न अनुमति प्राप्त भएमा पश्चिमबाट नेपाल प्रवेश गर्ने अन्तर्राष्ट्रिय उडानका लागि अर्को विकल्प उपलब्ध हुनेछ। तर, अहिलेको सहमतिमा भारतले बी–३४५ मार्गलाई मात्र दुईतर्फी सञ्चालन गर्न अनुमति दिने सहमति जनाएको छ।

यससँगै भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको उडान विस्तारका लागि लामो समयदेखि उठ्दै आएको हवाई प्रवेशमार्गको विषयमा महत्त्वपूर्ण प्रगति भएको छ। यद्यपि, सहमतिलाई व्यवहारमा कार्यान्वयन गर्न आवश्यक प्राविधिक तथा सञ्चालनसम्बन्धी प्रक्रिया पूरा हुन बाँकी छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij