प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणपछि नेपाल–भारतबीचको सम्बन्ध सम्भावनायुक्त सकारात्मक लयमा फर्किएको सरकारले दाबी गरेको छ।
प्रधानमन्त्री शाह स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री शिशिर खनालले यस्तो बताएका हुन्।
नयाँ सरकार गठनपछि प्रधानमन्त्रीको पहिलो औपचारिक विदेश भ्रमणका रूपमा रहेको भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई सकारात्मक दिशामा अघि बढाउन सहयोग पुगेको मन्त्री खनालले बताए।
‘राष्ट्रहितको प्रवर्द्धन गर्दै सहयोगात्मक र घनिष्ठ सम्बन्ध तथा सहकार्यलाई बलियो बनाउने र त्यसबाट लाभ प्राप्त गर्ने दिशामा भ्रमण केन्द्रित रह्यो। नेपाल–भारत सम्बन्धलाई सम्भावनायुक्त सकारात्मक लयमा फर्काउन भ्रमण फलदायी बन्यो,’ उनले भने।
दुवै देशका प्रधानमन्त्रीले अघि सारेको ‘विकसित भारत–समुन्नत नेपाल’ दूरदृष्टि दस्ताबेजले नेपालको ऊर्जा, कनेक्टिभिटीलगायतका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने मन्त्री खनालको भनाइ छ। उक्त दस्ताबेजले पुराना सन्धि सम्झौताको पुनरावलोकनका लागि समेत बाटो खोलिदिएको उनले बताए।
‘यस दस्ताबेजले पुराना सन्धिहरूको पुनरावलोकनको बाटोसमेत खोलिदिएको छ। दुई राष्ट्रबीच जनस्तरमा सम्बन्ध विस्तार गर्न पनि यसले विशेष योगदान गर्नेछ,’ उनले भने।
मन्त्री खनालका अनुसार दुई देशका प्रधानमन्त्रीबीच भएको छलफल आपसी सहयोग र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा केन्द्रित थियो। प्रधानमन्त्री शाहको भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको उनले दाबी गरे।
यसैबीच, प्रधानमन्त्री शाहलाई भारत भ्रमणका लागि आमन्त्रण गरेकोमा सरकारले भारतीय सरकारप्रति धन्यवाद व्यक्त गरेको छ।
प्रतिक्रिया दिनुहोस