काठमाडौं । अमेरिकाको ओहायोस्थित सिनसिनाटी चिडियाखानामा विश्वभर चर्चित जलगैँडा फियोनाको नौ वर्षको उमेरमा मृत्यु भएको छ । आगन्तुकले लगाएको बुनेको टोपी गल्तीले वासस्थानभित्र खसेपछि निल्दा आन्द्रामा अवरोध उत्पन्न भएर उनको मृत्यु भएको चिडियाखानाले जनाएको छ ।
चिडियाखानाका अनुसार फियोनाको उपचारका लागि पशु चिकित्सक तथा हेरचाह टोलीले निरन्तर प्रयास गरेका थिए । मानव चिकित्साका विशेषज्ञसँग समेत परामर्श गरेर टोपी शरीरबाट निकाल्ने प्रयास गरिए पनि सफल हुन सकेन ।
चिडियाखानाका निर्देशक डेभ जेनीकेले बिहीबार जारी गरेको विज्ञप्तिमा फियोनाको मृत्युले आफूहरू स्तब्ध भएको बताएका छन् । ‘हामीले यस्तो परिणामको अपेक्षा गरेका थिएनौँ । फियोनाले अन्तिम समयसम्म संघर्ष गरिन्,’ उनले भने ।
करिब ९०७ किलोग्राम तौल भएकी फियोनाको शल्यक्रिया गर्न सम्भव नभएको चिडियाखानाले जनाएको छ । पटक–पटक वस्तु निकाल्ने प्रयास गर्दा पनि उनको स्वास्थ्यमा सुधार आउन सकेन ।
आन्द्रामा अवरोध भएपछि स्वास्थ्य गम्भीर
चिडियाखानाका सञ्चार निर्देशक मिसेल कर्लेका अनुसार एक साताभन्दा बढी समयअघि एक आगन्तुकको टोपी हावामा उडेर फियोनाको वासस्थानभित्र पुगेको थियो । टोपी छतको पङ्खामा अड्किएपछि त्यहाँबाट उछिट्टिएर करिब १२ फिट अग्लो अवलोकन झ्यालमाथिको खाली ठाउँ हुँदै भित्र खसेको थियो ।
मियामी चिडियाखानाकी पशु चिकित्सक तथा जलगैँडा विशेषज्ञ डा. गाब्रिएला फ्लाकेले यस्ता बाह्य वस्तु निल्दा जनावरको आन्द्रामा गम्भीर अवरोध उत्पन्न हुन सक्ने बताइन् ।
उनका अनुसार फियोनाको अल्ट्रासाउन्ड परीक्षणमा आन्द्रा खुम्चिएको देखिएको थियो । सानो आन्द्रामा वस्तु अड्किएपछि त्यस वरिपरि दबाब बढ्ने, रक्तप्रवाह अवरुद्ध हुने र आन्द्राका तन्तुहरू मर्न थाल्ने जोखिम हुन्छ । यस्तो अवस्था छोटो समयमै जटिल बन्न सक्ने उनले बताइन् ।
जलगैँडाको ठूलो शरीर, बाक्लो छाला र शल्यक्रियापछि घाउ निको पार्न कठिन हुने भएकाले पनि शल्यक्रिया जोखिमपूर्ण हुने उनको भनाइ थियो ।
समयअघि जन्मिएर विश्वभर चर्चित बनेकी थिइन् फियोना
फियोना सन् २०१७ मा निर्धारित समयभन्दा छ हप्ता पहिले जन्मिएकी थिइन् । जन्मिँदा उनको तौल जम्मा २९ पाउन्ड अर्थात् करिब १३ किलोग्राम थियो । सामान्यतया जलगैँडाका बच्चाको जन्मतौल करिब १०० पाउन्ड हुने गर्छ ।
जन्मिएपछि आफ्नी आमा बिबीबाट दूध चुस्न आवश्यक समयसम्म उभिन नसकेपछि चिडियाखानाका कर्मचारीले उनको विशेष हेरचाह गरेका थिए । सिनसिनाटी चिल्ड्रेन्स अस्पतालका नर्सहरू समेत उनको उपचार तथा स्याहारमा सहभागी भएका थिए । यसका लागि गठित टोलीलाई ‘टिम फियोना’ नाम दिइएको थियो ।
स्वास्थ्यमा सुधार हुँदै गएपछि चिडियाखानाले फियोनाका तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्न थालेको थियो । उनका गतिविधि भाइरल भएपछि उनी छोटो समयमै विश्वभर चर्चित बनिन् ।
उनको लोकप्रियतासँगै ‘टिम फियोना’ नामका टी–सर्ट, म्याग्नेटलगायत सामग्री बजारमा आउन थाले । स्थानीय ब्रुअरीले उनको सम्मानमा विशेष बियरसमेत उत्पादन गरेको थियो । त्यस्तै, स्थानीय कपडा कम्पनीले टी–सर्ट बिक्रीबाट प्राप्त रकम चिडियाखानालाई उपलब्ध गराउने व्यवस्था गरेको थियो ।
फियोनालाई हेर्न अस्ट्रेलिया, जर्मनी, ब्राजिल र जापानलगायत देशबाट समेत पर्यटक सिनसिनाटी पुग्ने गरेका थिए । सामान्यतया चिडियाखानामा राखिएका जलगैँडाको आयु ४० देखि ५० वर्षसम्म हुने भएकाले नौ वर्षमै उनको निधन हुनु असामयिक मानिएको छ ।
विश्वभरका प्रशंसक शोकमा
फियोनाको निधनपछि सिनसिनाटीका बासिन्दादेखि विश्वभरका उनका प्रशंसकले दुःख व्यक्त गरेका छन् ।
सिनसिनाटीका मेयर आफ्ताब पुरेवालले फियोनालाई सहरको दृढता र खुसीको प्रतीकका रूपमा स्मरण गरेका छन् । ओहायोका गभर्नर माइक डिवाइन र नवनिर्वाचित गभर्नर एमी एक्टनले पनि उनको निधनप्रति शोक व्यक्त गरेका छन् ।
चिडियाखानाबाहिर फियोना र उनकी आमाको मूर्तिनजिक प्रशंसकहरूले गुलाबी तथा सेतो फूल र श्रद्धाञ्जली कार्ड राखेर सम्मान व्यक्त गरेका छन् ।
एक प्रशंसकले फियोना आफ्नो चिडियाखाना भ्रमणको मुख्य आकर्षण रहेको स्मरण गर्दै उनको संघर्षशील जीवन र प्रशंसकसँगको आत्मीय व्यवहार कहिल्यै नबिर्सने बताएका छन् ।
सानो अवस्थामै जीवनका कठिन चुनौती पार गरेर विश्वभरका मानिसको मन जित्न सफल फियोनाको असामयिक निधनले वन्यजन्तु प्रेमी तथा उनका प्रशंसकलाई भावुक बनाएको छ ।
प्रतिक्रिया दिनुहोस