शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाली फुटबलमाथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन फुकुवा गर्ने प्रक्रिया अघि बढेको बताएका छन् । फिफा र एसियाली फुटबल महासंघ (एएफसी) का पदाधिकारीसँगको छलफलपछि निलम्बन हटाउने विषयमा सकारात्मक प्रगति भएको उनको भनाइ छ ।
थाइल्यान्ड भ्रमण सकेर स्वदेश फर्किएका मन्त्री पोखरेलले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई नेपाल भ्रमणको निम्तासमेत दिएको जानकारी दिए ।
उनका अनुसार फिफा र एएफसी नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) को तहगत निर्वाचन गराउन सहमत भएका छन् । निर्वाचन कुन प्रक्रिया र ढाँचाबाट सम्पन्न गर्ने भन्ने विषयमा फिफाले आगामी डिसेम्बरमा प्रस्तावसहितको कार्ययोजना पठाउनेछ ।
मन्त्री पोखरेलले एन्फामाथिको निलम्बन फुकुवाको प्रक्रिया फिफाले नै अघि बढाउने स्पष्ट पारे । यद्यपि, निर्वाचन पुरानै नेतृत्वबाट गराउने वा अन्तरिम समिति गठन गरेर प्रक्रिया अघि बढाउने भन्ने विषयमा भने अन्तिम सहमति भइनसकेको उनले बताए ।
यसअघि नेपाली फुटबलमा सरकारको भूमिकालाई फिफाले तेस्रो पक्षको हस्तक्षेपका रूपमा लिएको थियो । तर, सरकारले नेपालको कानुन र राज्यको अधिकार क्षेत्रबारे स्पष्ट पारेपछि फिफाको धारणा सकारात्मक बनेको मन्त्री पोखरेलको भनाइ छ ।
सरकारले आफ्नो संवैधानिक तथा कानुनी दायराभित्र रहेर काम गर्ने र फुटबलको आन्तरिक गतिविधिमा हस्तक्षेप नगर्ने प्रतिबद्धता जनाएको उनले बताए ।
एसियाली फुटबल महासंघको अवार्ड समारोहमा सहभागी हुन थाइल्यान्ड पुगेका मन्त्री पोखरेलले भ्रमणका क्रममा फिफा अध्यक्ष जियानी इन्फान्टिनो, महासचिव माटियास ग्राफस्ट्रोम र एएफसी अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफासँग भेटवार्ता गरेका थिए ।
फिफाबाट डिसेम्बरमा आउने प्रस्तावपछि एन्फाको निर्वाचन प्रक्रिया र नेपाली फुटबलमाथिको निलम्बन फुकुवासम्बन्धी आगामी कदम स्पष्ट हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस