एमसीए–नेपालले न्यू बुटवल सबस्टेसनदेखि न्यू दमौली सबस्टेसनसम्म जोड्ने ४०० केभी क्षमताको दोहोरो सर्किटयुक्त विद्युत् प्रसारणलाइन निर्माण सुरु गरेको छ ।
आयोजनाअन्तर्गत तनहुँ र पाल्पा जिल्लाबाट प्रसारणलाइन निर्माणको काम अघि बढाइएको एमसीए–नेपालले जनाएको छ ।
कुल ९० किलोमिटर लामो यस खण्डमा २५० वटा प्रसारण टावर निर्माण गरिनेछन् । प्रसारणलाइन तनहुँ, पाल्पा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) गरी चार जिल्लामा फैलिनेछ ।
यो प्रसारणलाइन अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्टअन्तर्गत सञ्चालन भइरहेको विद्युत् प्रसारण आयोजनाको एउटा महत्त्वपूर्ण हिस्सा हो । उक्त आयोजनामार्फत कुल ३१५ किलोमिटर लामो विद्युत् प्रसारण सञ्जाल निर्माण गर्ने लक्ष्य राखिएको छ ।
प्रसारण सञ्जाल विस्तार भएपछि नेपालमा थप उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारण ग्रिडमा जोड्न सहज हुने एमसीए–नेपालको भनाइ छ । यसबाट विद्युत् प्रसारण क्षमता वृद्धि हुनुका साथै उत्पादित ऊर्जाको प्रभावकारी उपयोग र आपूर्तिमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
आयोजना सम्पन्न भएपछि नेपालको विद्युत् प्रसारण पूर्वाधार सुदृढ हुनुका साथै दीर्घकालीन ऊर्जा सुरक्षा सुनिश्चित गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।
प्रतिक्रिया दिनुहोस