विस्तृत शान्ति सम्झौता भएको दुई दशक बितिसक्दा पनि सशस्त्र द्वन्द्वका पीडितले न्याय, सत्य र परिपूरण पाउन नसकेको भन्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गम्भीर चिन्ता व्यक्त गरेको छ । सङ्क्रमणकालीन न्याय प्रक्रिया लामो समयदेखि अलपत्र पर्दा पीडितको न्याय पाउने अधिकारसमेत प्रभावित भएको इन्सेकको निष्कर्ष छ ।
शान्ति सम्झौताको २० वर्ष पूरा भएको अवसरमा शुक्रबार विज्ञप्ति जारी गर्दै इन्सेकका अध्यक्ष विजयराज गौतमले सङ्क्रमणकालीन न्याय प्रक्रियामा भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् ।
नेपाल सरकार र तत्कालीन नेकपा (माओवादी) बीच २०६३ मङ्सिर ५ गते भएको विस्तृत शान्ति सम्झौताले १० वर्ष लामो सशस्त्र द्वन्द्व अन्त्य गर्दै दिगो शान्ति स्थापना, मानव अधिकारको संरक्षण र लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्ने प्रतिबद्धता गरेको थियो । तर, सम्झौताको दुई दशक बितिसक्दा पनि द्वन्द्वपीडितले न्याय र परिपूरण पाउन नसकेको इन्सेकले जनाएको छ ।
इन्सेकका अनुसार सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा उजुरी दर्ता भए पनि गम्भीर मानव अधिकार उल्लङ्घनका घटनाको प्रभावकारी अनुसन्धान हुन सकेको छैन । आयोगको कामकारबाही अपेक्षित रूपमा अघि बढ्न नसक्दा पीडितले न्याय पाउने प्रक्रिया थप अनिश्चित बनेको विज्ञप्तिमा उल्लेख छ ।
वर्तमान सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी स्पष्ट धारणा र कार्ययोजना सार्वजनिक गर्न नसकेकोप्रति पनि इन्सेकले प्रश्न उठाएको छ । सरकार गठन भएको आठ महिना पुग्न लाग्दासमेत यस प्रक्रियालाई कसरी अगाडि बढाउने भन्ने विषयमा आधिकारिक योजना नआउनु चिन्ताजनक रहेको उसको भनाइ छ ।
विज्ञप्तिमा २०८३ वैशाख २२ गते अध्यादेश जारी गरी दुवै आयोगका पदाधिकारीलाई पदमुक्त गरिए पनि लामो समयसम्म नयाँ पदाधिकारी नियुक्तिको प्रक्रिया अघि नबढेको उल्लेख गरिएको छ । पदाधिकारीविहीन अवस्थामा रहेका आयोगको काम लगभग ठप्प हुँदा पीडितमा अन्योल र निराशा थपिएको इन्सेकले जनाएको छ ।
दश वर्ष लामो सशस्त्र द्वन्द्वका क्रममा राज्य र तत्कालीन विद्रोही पक्षबाट भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट हजारौँ नागरिक प्रभावित भएको इन्सेकको अभिलेखमा उल्लेख छ । अभिलेखअनुसार द्वन्द्वका क्रममा १३ हजार २४६ जनाको हत्या भएको छ भने ९३१ जना बेपत्ता पारिएका छन् । यौन हिंसा, यातना, अपहरण तथा बलपूर्वक विस्थापनलगायत गम्भीर मानव अधिकार उल्लङ्घनबाट पनि हजारौँ व्यक्ति प्रभावित भएका छन् ।
इन्सेकले विस्तृत शान्ति सम्झौताको मर्मअनुसार द्वन्द्वपीडितको सत्य, न्याय र परिपूरणको अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । साथै, पीडित तथा सरोकारवालासँग अर्थपूर्ण परामर्श गरी पारदर्शी र निष्पक्ष प्रक्रियाबाट दुवै आयोगमा सक्षम पदाधिकारी नियुक्त गर्न तथा सङ्क्रमणकालीन न्यायसम्बन्धी सरकारको स्पष्ट धारणा र कार्ययोजना सार्वजनिक गर्न आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस