अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व चुहावट नियन्त्रणमा कुनै सम्झौता नगर्न र लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न भन्सार प्रशासनलाई निर्देशन दिएका छन् ।
अर्थ मन्त्रालयअन्तर्गतका कार्यालयहरूको स्थलगत निरीक्षणका क्रममा शुक्रबार मोरङको विराटनगर पुगेका मन्त्री वाग्लेले रानीस्थित विराटनगर भन्सार कार्यालयको एकीकृत भन्सार जाँचपास चौकीको अवलोकनपछि यस्तो निर्देशन दिएका हुन् ।
निरीक्षणका क्रममा उनले भन्सार प्रशासनलाई राजस्व चुहावट रोक्न कडाइका साथ प्रस्तुत हुन तथा निर्धारित लक्ष्यअनुसार राजस्व सङ्कलनमा विशेष ध्यान दिन आग्रह गरे ।
‘राजस्व चुहावट रोक्न सबै कदम चाल्नुहोस् । त्यसमा शून्य सहनशीलताको नीति लिनुहोस् । राजस्व सङ्कलनको ऐतिहासिक राष्ट्रिय लक्ष्य पूरा गर्न कुनै कसर बाँकी नराख्नुहोस्,’ उनले भने ।
मन्त्री वाग्लेले सरकारले अघि सारेको ‘मिसन १६ खर्ब’ राजस्व सङ्कलनको लक्ष्यलाई आत्मसात् गरी काम गर्न पनि कर्मचारीलाई निर्देशन दिए । भन्सार प्रशासनमा दस्तुर तथा थप दस्तुरका नाममा अनावश्यक झन्झट सिर्जना भएको गुनासो आफूले सुन्न नचाहेको उल्लेख गर्दै उनले सेवा प्रवाहलाई सहज बनाउनुपर्ने बताए ।
राजस्व ठगी तथा छलीमा संलग्न व्यक्तिलाई भन्सार क्षेत्रमा कुनै पनि प्रकारको संरक्षण दिन नहुने उनको भनाइ थियो । उनले राजस्व चुहावट नियन्त्रण र लक्ष्यअनुसार सङ्कलनलाई प्राथमिकतामा राखेर जिम्मेवारीपूर्वक काम गर्न भन्सार प्रशासनलाई निर्देशन दिएका छन् ।
प्रतिक्रिया दिनुहोस