२०८३, मंसिर १२ गते

शुक्रवार, मंसिर १२ गते २०८३

‘एमाले हार्न जन्मिएको पार्टी होइन, फेरि सरकारको नेतृत्व गर्छौँ’ : ओली

शुक्रवार, मंसिर ५ २०८३०७:५७

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी हार्नका लागि जन्मिएको नभएको भन्दै छिट्टै पुनः सरकारको नेतृत्व गर्ने दाबी गरेका छन्।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एमालेको राष्ट्रिय जनप्रतिनिधि भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

‘एमाले हार्नको लागि जन्मिएकै होइन, फेरि जित्छौँ,’ उनले भने।

ओलीले देशको विकास र राष्ट्रियताको रक्षा गर्ने जिम्मेवारी एमालेकै भएको जिकिर गर्दै उक्त जिम्मेवारी पूरा गरेरै छाड्ने बताए।

उनले आगामी निर्वाचनमा स्थानीय तह मुख्य प्रतिस्पर्धाको थलो बन्ने उल्लेख गर्दै जनप्रतिनिधिहरूलाई आफ्नो कार्यसम्पादनमा देखिएका कमजोरी तत्काल सुधार्न निर्देशन दिए। विगतमा भएका कमीकमजोरी सच्याउँदै जनतामाझ विश्वास कायम गर्ने गरी काम गर्नुपर्ने उनको भनाइ थियो।

जनप्रतिनिधिहरूले राम्रो काम गरेको अवस्थामा पुनः सोही पदमा निर्वाचित हुने सम्भावना रहने भन्दै उनले जनताको विश्वास जित्ने गरी जिम्मेवारी निर्वाह गर्न आग्रह गरे।

‘अब भोलि निर्वाचनमा लडाइँको थलो स्थानीय तह बन्ने वाला छ। यदि हिजो केही कमजोरी रहे भने, केही पोखिएको छ भने हतारहतार उठाउनुस् है साथीहरू। पोखिएको हुन सक्छ कतै, हतारहतार उठाउनुस्, हतारहतार मिलाउनुस्। कुनै पदबाहेक राम्रो काम गर्नुभएको छ भने फेरि त्यही पदमा दोहोरिने सम्भावना पनि होला,’ ओलीले भने।

उनले संविधान तथा संघ र प्रदेशका कानुनसँग नबाझिने गरी स्थानीय तहले आफ्नै कानुन तथा ऐन निर्माण गरेर काम गर्न सक्ने पनि बताए।

ओलीले पार्टीका कार्यकर्ता तथा आम नागरिकलाई सन्तुष्ट बनाउने गरी कार्यसम्पादन गर्न जनप्रतिनिधिहरूलाई आग्रह गर्दै जनताको अपेक्षाअनुसार काम गर्न निर्देशन दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij