अमेरिकाले इरानमाथि लगाएको नाकाबन्दीका कारण खाडी क्षेत्रमा व्यावसायिक पानीजहाज सञ्चालन प्रभावित भएको खुलासा भएको छ। अमेरिकी सरकारकै सामुद्रिक निकायले आन्तरिक मेमोमार्फत नाकाबन्दीका कारण सामुद्रिक बिमा शुल्क बढ्नुका साथै मालवाहक क्षमतामा समेत नकारात्मक असर परेको भन्दै सचेत गराएको हो।
‘अल जजीरा’ले प्राप्त गरेका गोप्य कागजातअनुसार इरानसँगको बढ्दो तनावले व्यावसायिक पानीजहाजको सञ्चालन जोखिमपूर्ण बनाएको छ। यसले युद्ध जोखिमसम्बन्धी बिमा शुल्कमा उल्लेख्य वृद्धि गराएको देखिएको छ।
अमेरिकी सेन्ट्रल कमान्डले नाकाबन्दी तोड्ने प्रयास गरेको आरोपमा पानामाको झण्डावाहक मालवाहक पानीजहाज ‘ओसन मोलिका’लाई नियन्त्रणमा लिएर निष्क्रिय पारेको घोषणा गरेको थियो। त्यसलगत्तै अमेरिकी सामुद्रिक प्रशासनले सतर्कता सूचना जारी गरेको थियो।
‘स्ट्रेट अफ होर्मुज’ तथा आसपासका क्षेत्रमा अन्य तीनवटा ट्यांकरमाथि भएका अज्ञात आक्रमणपछि सामुद्रिक प्रशासनका प्रशासक स्टिफन एम कार्मेलले गत अक्टोबर १२ मा मातहतका अधिकारीलाई उक्त सूचना पठाएका थिए।
‘सतर्कता–होर्मुजको जोखिम जलडमरूभन्दा बाहिर फैलिँदै’ शीर्षकको मेमोमा पछिल्लो अवस्था अघिल्ला चेतावनीको तुलनामा निकै गम्भीर बनेको उल्लेख छ।
मेमोमा भनिएको छ, ‘व्यावसायिक पानीजहाजहरूले अहिले दुवै पक्षबाट प्रत्यक्ष सैन्य कारबाहीको सामना गरिरहेका छन्। यो खतरा खाडीका बन्दरगाह र ओमानको खाडीसम्म फैलिएको छ।’
यस परिस्थितिले युद्ध जोखिम बिमा शुल्क थप बढ्ने, चालक दलका सदस्यहरूले काम गर्न अस्वीकार गर्ने र ट्यांकरहरूको प्रभावकारी क्षमतामा संकुचन आउने सम्भावना बढाएको पनि मेमोमा उल्लेख छ।
प्रशासक कार्मेलले सामुद्रिक प्रशासनका सहकर्मी माइकल यारिङटनलाई इमेल पठाउँदै पछिल्ला आक्रमणले बिमा शुल्कमा पारेको प्रभाव र युद्ध जोखिम बिमालाई पुनर्संरचना गर्ने निकायको प्रयासबारे जानकारी मागेका थिए। यद्यपि, उक्त सतर्कता सूचना सामुद्रिक प्रशासन आफैँले तयार पारेको हो वा अन्य कुनै सुरक्षा निकायबाट प्राप्त भएको हो भन्ने स्पष्ट भइसकेको छैन।
कार्मेलले सामुद्रिक बिमा कार्यालयका अधिकारी यारिङटनलाई बिमा बजारले पछिल्ला घटनाक्रमलाई कसरी लिइरहेको छ भन्दै जिज्ञासा राखेका थिए।
जवाफमा यारिङटनले लन्डनस्थित सम्पर्क सूत्रहरूसँग बुझेर विभिन्न समाचार प्रतिवेदनका आधारमा संकलन गरिएको बढ्दो बिमा शुल्कसम्बन्धी विवरण पठाएका थिए। यसले इरानमाथिको अमेरिकी नाकाबन्दी र खाडी क्षेत्रमा बढ्दो सैन्य तनावले अन्तर्राष्ट्रिय सामुद्रिक व्यापार तथा बिमा बजारमा समेत दबाब सिर्जना गरिरहेको देखाएको छ।
प्रतिक्रिया दिनुहोस