झापामा पछिल्लो तीन महिनामा आगलागीका ४५ वटा घटना भएका छन्। ती घटनामा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। आगलागीबाट जिल्लामा १७ करोड ५१ लाख १३ हजार ९७५ रुपैयाँ बराबरको आर्थिक क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
जिल्ला प्रहरीको तथ्यांकअनुसार भदौ, असोज र कात्तिक महिनामा भएका आगलागीका घटनामध्ये कात्तिकमा मात्रै २६ वटा घटना भएका छन्। दसैं–तिहारको अवधिमा भएका यी आगलागीबाट ६ करोड ७२ लाख २१ हजार रुपैयाँ बराबरको भौतिक क्षति भएको छ। कात्तिक महिनामा भएका आगलागीमा परी दुई जनाको ज्यान गएको थियो।
गत असोज ३० गते अर्जुनधारा नगरपालिका–९ की ८३ वर्षीया कालिकादेवी तिम्सिना फोहोर जलाउने क्रममा गम्भीर घाइते भएकी थिइन्। बीएण्डसी अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो। उपचारकै क्रममा कात्तिक २ गते उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यस्तै, कात्तिक ५ गते बिहान ४ बजेर १० मिनेटमा बिर्तामोड नगरपालिका–२ रामचोकस्थित रवि राजवंशीले सञ्चालन गरेको बडी ग्यारेजको क्यान्टिनमा आगलागी हुँदा ६५ वर्षीय रुद्रबहादुर तामाङको मृत्यु भएको थियो। विद्युत् सर्ट भएर आगलागी हुँदा गौरीगञ्ज गाउँपालिका–२ निवासी तामाङको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।
यसैगरी, असोज महिनामा आगलागीका १२ वटा घटना भएका थिए। ती घटनाबाट १० करोड ६६ लाख ८२ हजार ९७५ रुपैयाँ बराबरको क्षति भएको प्रहरीको तथ्यांक छ। भदौ महिनामा भने आगलागीका सात वटा घटना हुँदा १२ लाख १० हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको थियो।
प्रतिक्रिया दिनुहोस