२०८३, मंसिर १२ गते

शुक्रवार, मंसिर १२ गते २०८३

हरिबोधिनी एकादशीमा चार नारायणसहित देशभरका मन्दिरमा भक्तजनको घुइँचो

शुक्रवार, मंसिर ५ २०८३०९:०७

काठमाडौँ । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका अवसरमा आज बिहानैदेखि काठमाडौँ उपत्यकाका चार नारायणसहित देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । भगवान् विष्णुको पूजाआराधना र दर्शनका लागि बिहानैदेखि विभिन्न मन्दिरमा श्रद्धालुको लाम लागेको हो ।

धार्मिक मान्यताअनुसार आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गर्नुभएका भगवान् विष्णु कार्तिक शुक्ल एकादशीका दिन जागा हुनुहुन्छ । भगवान् विष्णु जागा हुने दिनका रूपमा मनाइने हरिबोधिनी एकादशीमा व्रत, पूजाआजा र दर्शन गर्नाले मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

यस अवसरमा काठमाडौँ उपत्यकाका चाँगुनारायण, शेषनारायण, इचङ्गुनारायण र विशङ्खुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । यी चार मन्दिरलाई सामूहिक रूपमा चार नारायणका नामले चिनिन्छ । एकैदिन चारै नारायणको दर्शन तथा पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेकाले टाढाटाढाबाट समेत भक्तजन सवारीसाधन रिजर्भ गरेर दर्शनका लागि आउने गरेका छन् ।

चार नारायणको दर्शन गर्न नसक्ने भक्तजनले उत्तरी काठमाडौँस्थित बूढानीलकण्ठ नारायणस्थानमा पुगेर पूजाआजा तथा दर्शन गर्ने परम्परा छ । बूढानीलकण्ठमा एउटै विशाल ढुङ्गामा भगवान् विष्णु र शिवको स्वरूप स्थापना गरिएको छ । यहाँको जलकुण्डमाथि शयन अवस्थामा रहेको भगवान् नारायणको अलौकिक मूर्ति दर्शनका लागि आन्तरिक तथा बाह्य पर्यटकसमेत आउने गरेका छन् ।

बूढानीलकण्ठ नारायणस्थानमा राति १ बजेदेखि नै भक्तजनको आगमन सुरु भएको महन्त निगमानन्द स्वामीले जानकारी दिनुभयो । भक्तजनको चाप बढेपछि बूढानीलकण्ठ नारायणस्थान दशनामी मठले राति १ः३० बजेदेखि नै मन्दिरको ढोका दर्शनार्थीका लागि खुला गरेको थियो ।

आज पाँच लाखभन्दा बढी भक्तजनले दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको मठले जनाएको छ । बिहान ६ बजेसम्म हजारौँ भक्तजनले विशेष पूजाआजा तथा दर्शन गरिसकेको महन्त स्वामीले बताउनुभयो । विशेष पूजाका लागि बिहान १ः३० बजेदेखि सवा ८ बजेसम्म मन्दिर दर्शनार्थीका लागि बन्द गरिने कार्यक्रम रहेको मठले जनाएको छ ।

हरिबोधिनी एकादशीको अवसरमा बूढानीलकण्ठमा आजदेखि कार्तिक शुक्ल पूर्णिमा अर्थात् मङ्सिर ८ गतेसम्म विशेष मेला लाग्नेछ । मठले हरेक वर्ष यस अवसरमा श्रीमद्भागवत कथा वाचनसहित धार्मिक कार्यक्रम आयोजना गर्दै आएको छ । यस वर्ष मङ्सिर २ गतेदेखि सुरु भएको महायज्ञ तथा धार्मिक महोत्सव मङ्सिर ८ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

यसैगरी, नारायणहिटी दरबार क्षेत्रस्थित चतुर्व्यूह नारायण मन्दिर, हाँडीगाउँ, हनुमानढोका दरबार क्षेत्र तथा पशुपति क्षेत्रका नारायण मन्दिरमा पनि भक्तजनको भीड लागेको छ । गोकर्णेश्वर नगरपालिकास्थित नारायणटारको नारायण मन्दिरलगायत काठमाडौँ उपत्यका तथा उपत्यकाबाहिरका विभिन्न नारायण मन्दिरमा समेत बिहानैदेखि पूजाआजा, आराधना र दर्शनका लागि श्रद्धालु जम्मा भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij