बेलायतमा उच्च शिक्षा हासिल गर्न जाने नेपाली विद्यार्थीको भिसा अस्वीकृति दर निकै उच्च देखिएको छ। बेलायतको भिसा तथा अध्यागमन विभाग (यूकेभीआई) ले विश्वसनीयता परीक्षणका लागि अन्तर्वार्तामा बोलाएका नेपाली विद्यार्थीमध्ये ९२ प्रतिशतको भिसा अस्वीकृत गरेको पाइएको छ।
‘द पाई न्युज’ मा प्रकाशित यूकेभीआईको तथ्याङ्कअनुसार सन् २०२६ को मेदेखि अक्टोबरसम्म विश्वभरका ११ हजार ४१५ सम्भावित विद्यार्थीको विश्वसनीयता परीक्षणका लागि अन्तर्वार्ता लिइएको थियो।
तीमध्ये नौ हजार ४३ जनालाई बेलायती अधिकारीहरूले अविश्वसनीय ठहर गरेका थिए। यो अन्तर्वार्तामा सहभागी कुल विद्यार्थीको ७९ प्रतिशत हो।
अन्तर्वार्तापछि भिसा अस्वीकृत हुनेमा नेपाली विद्यार्थी सबैभन्दा अगाडि देखिएका छन्। अन्तर्वार्तामा सहभागी नेपाली विद्यार्थीमध्ये ९२ प्रतिशतलाई यूकेभीआईका अधिकारीहरूले अविश्वसनीय ठहर गरेका छन्।
त्यस्तै, भारतका ८९ प्रतिशत, नाइजेरियाका ८४ प्रतिशत, बंगलादेशका ७९ प्रतिशत, श्रीलंकाका ७९ प्रतिशत र पाकिस्तानका ७३ प्रतिशत विद्यार्थीको भिसा अस्वीकृत भएको तथ्याङ्कमा उल्लेख छ।
यी हुन् भिसा अस्वीकृतिका प्रमुख कारण
यूकेभीआईले सार्वजनिक गरेको ब्रिफिङ दस्ताबेजअनुसार विद्यार्थीले आफूले रोजेको विश्वविद्यालय तथा शैक्षिक संस्थाबारे पर्याप्त जानकारी नहुनु भिसा अस्वीकृतिको प्रमुख कारणमध्ये एक हो।
त्यस्तै, बेलायतमै अध्ययन गर्नुपर्ने कारण स्पष्ट पार्न नसक्नु, छनोट गरेको विषय र शैक्षिक संस्थाले भविष्यको योजनासँग कसरी सम्बन्ध राख्छ भन्नेबारे स्पष्ट व्याख्या गर्न नसक्नु पनि भिसा अस्वीकृतिका कारण हुन्।
विद्यार्थीले अध्ययन गर्न लागेको विषयबारे पर्याप्त ज्ञान नहुनु, अंग्रेजी भाषामा कमजोर क्षमता देखिनु तथा आर्थिक स्रोतको विश्वसनीयता पुष्टि गर्न नसक्नुलाई पनि भिसा अस्वीकृतिको आधार बनाइएको छ।
यूकेभीआईको तथ्याङ्कले केही देशका विद्यार्थीलाई अन्तर्वार्तामा बोलाउने क्रमसमेत बढेको देखाएको छ। सन् २०२५ र २०२६ बीच अन्तर्वार्ताका लागि बोलाइएका नाइजेरियाली विद्यार्थीको अनुपात सात प्रतिशतबाट बढेर २१ प्रतिशत पुगेको छ।
आवेदनको प्रकृति र जोखिम विश्लेषणका आधारमा थप छानबिन आवश्यक देखिएकाले अन्तर्वार्ताको दायरा बढाइएको यूकेभीआईले जनाएको छ।
यद्यपि, मेदेखि अक्टोबरसम्मको छ महिनाको तथ्याङ्कले वर्षभरको अवस्थालाई पूर्ण रूपमा प्रतिनिधित्व नगर्ने पनि यूकेभीआईले स्पष्ट पारेको छ।
वास्तविक विद्यार्थी पहिचान गर्न भिसा प्रक्रियामा कडाइ
यसैबीच, बेलायतको गृह मन्त्रालयका कार्य, अध्ययन, परिवार तथा युक्रेन सेवा प्रमुख ओलिभर रेले अन्तर्राष्ट्रिय विद्यार्थी भर्नासम्बन्धी सम्मेलनमा बोल्दै बेलायतले अन्तर्राष्ट्रिय विद्यार्थीको सङ्ख्यामा सीमा नलगाएको बताएका छन्। तर, वास्तविक विद्यार्थी पहिचान गर्न भिसा प्रक्रियामा कडाइ गरिएको उनको भनाइ छ।
उनले भिसा निर्णयमा सबै अवस्थामा सही नतिजा आउन नसक्ने स्वीकार गर्दै अघिल्लो वर्षको तुलनामा अन्तर्वार्ताको सङ्ख्या घटेको बताए।
उनका अनुसार अहिले जोखिमका आधारमा आवेदनको थप विश्लेषण गरी आवश्यक देखिएका विषयमा केन्द्रित भएर छानबिन गर्ने गरिएको छ।
यसैबीच, अन्तर्राष्ट्रिय विद्यार्थीले बेलायत पुगेपछि शरणार्थीका रूपमा बस्न आवेदन दिने प्रवृत्ति पनि त्यहाँको भिसा नीतिमा चासो र विवादको विषय बनेको छ।
यूकेभीआईको ब्रिफिङअनुसार बेलायतमा अध्ययनका लागि जानेमध्ये शरणार्थी दाबी गर्ने सम्भावना पाकिस्तानी विद्यार्थीमा सबैभन्दा बढी देखिएको छ। त्यसपछि भारत, बंगलादेश र नाइजेरियाका विद्यार्थी रहेका छन्।
प्रतिक्रिया दिनुहोस