२०८३, मंसिर १२ गते

शुक्रवार, मंसिर १२ गते २०८३

कोप–३१ मा जलवायु वित्तका लागि २७ करोड ३० लाख डलर सहयोग घोषणा, नेपालले सहज पहुँच र कार्यान्वयनमा जोड दियो

बिहिवार, मंसिर ४ २०८३१०:२८

टर्किएको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–३१) मा ११ वटा देश तथा सम्बद्ध पक्षले जलवायु वित्तका लागि करिब २७ करोड ३० लाख अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।

जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण, अनुकूलन तथा नोक्सानी र क्षतिको सम्बोधनका लागि विभिन्न देशले उक्त वित्तीय सहयोग घोषणा गरेका हुन्।

प्राकृतिक स्रोत संरक्षण परिषद् (एनआरडिसी) का अनुसार घोषित सहयोगमध्ये २२ करोड ६८ लाख युरो र एक करोड २२ लाख ३४ हजार अमेरिकी डलर रहेको छ।

एनआरडिसीले सङ्कलन गरेको तथ्याङ्कअनुसार जलवायु वित्त उपलब्ध गराउने दातामध्ये डेनमार्क अग्रस्थानमा छ। डेनमार्कले ग्लोबल इन्भायरोमेन्ट फ्यासिलिटी (जीईएफ) मा १० करोड ७० लाख युरो सहयोग गर्ने घोषणा गरेको छ।

त्यस्तै, दक्षिण कोरियाले जीईएफमा ६८ लाख युरो सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। सिङ्गापुरले प्रशान्त क्षेत्रको उत्थानशीलता अभिवृद्धिका लागि स्थापना गरिएको प्यासिफिक रेजिलियन्स फ्यासिलिटीलाई पाँच लाख अमेरिकी डलर सहयोग घोषणा गरेको छ।

बेल्जियमले नोक्सानी तथा क्षति र अनुकूलनका लागि अतिकम विकसित देश कोषमा पाँच करोड युरो तथा जर्मनीले एक करोड ८० लाख युरो सहयोग गर्ने घोषणा गरेका छन्। स्पेनले नोक्सानी तथा क्षति र अनुकूलनका क्षेत्रमा चार करोड ५० लाख युरो सहयोग उपलब्ध गराउने जनाएको छ।

त्यसैगरी, आयरल्यान्डले अनुकूलनका लागि ६७ लाख अमेरिकी डलर, बेल्जियमको ब्रसेल्स क्षेत्रले ३२ लाख अमेरिकी डलर र पोर्चुगलले ११ लाख अमेरिकी डलर सहयोग घोषणा गरेका छन्। इस्टोनियाले अनुकूलनका लागि तीन लाख ३४ हजार अमेरिकी डलर तथा सोलोमन आइल्यान्डले हरित जलवायु कोषमा चार लाख अमेरिकी डलर योगदान गर्ने प्रतिबद्धता जनाएको छ।

यी योगदान जलवायु परिवर्तनको जोखिममा रहेका देश तथा समुदायको अनुकूलन क्षमता अभिवृद्धि, जलवायुजन्य विपद्का कारण हुने नोक्सानी तथा क्षतिको सम्बोधन र जलवायु वित्त परिचालनका लागि लक्षित छन्।

जलवायु वित्तका लागि प्रतिबद्धता आउन थालेको अवस्थालाई सकारात्मक रूपमा लिँदै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले प्रतिबद्धता आउने क्रम जारी रहेको बताएका छन्।

उनका अनुसार कोप सम्मेलनमा नेपाललगायत जलवायु जोखिमको मारमा परेका मुलुकले जलवायु वित्त बढाउन निरन्तर पैरवी गरिरहेका छन्। थप दातृ निकाय तथा मुलुकबाट पनि सहयोगको प्रतिबद्धता आउने अपेक्षा गरिएको छ।

तर, विगतका कोप सम्मेलनमा पनि जलवायु वित्त उपलब्ध गराउने प्रतिबद्धता जनाइए पनि विकसित तथा धनी मुलुकले कार्यान्वयनमा आनाकानी गर्दै आएको वन तथा जलवायु विज्ञ डा. सिन्धुप्रसाद ढुङ्गानाको भनाइ छ।

उनले विभिन्न कोषमा पर्याप्त जलवायु वित्त सुनिश्चित गर्न र त्यसमा सहज पहुँच उपलब्ध गराउनुपर्ने आवश्यकता औँल्याउँदै यसपटक गरिएका प्रतिबद्धता कार्यान्वयन हुने विषयमा भने प्रतीक्षा गर्नुपर्ने बताए।

जलवायु वित्त बढाउन र प्रतिबद्धता कार्यान्वयन गर्न नेपालको आग्रह

नेपालले जलवायु परिवर्तनको जोखिममा रहेका मुलुकलाई पर्याप्त जलवायु वित्त उपलब्ध गराउन तथा विकसित र धनी मुलुकले गरेका वित्तीय प्रतिबद्धता कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।

कोप–३१ को समापन सम्बोधनका क्रममा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु वित्तमा सहज र शीघ्र पहुँच सुनिश्चित गर्दै अनुदानमा आधारित सहयोग उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरिन्।

उनले जलवायु वित्त विपद्अघि, विपद्का बेला र विपद्पछिको पुनःस्थापनाका लागि समेत उपलब्ध हुनुपर्ने बताइन्।

मन्त्री चौधरीले नोक्सानी तथा क्षति सम्बोधन कोषअन्तर्गत शीघ्र प्रतिकार्यका लागि छुट्टै वित्तीय व्यवस्था गर्न र सबै जलवायु कोषबाट विपद् चक्रका सबै चरणमा समयमै वित्त उपलब्ध गराउन आह्वान गरिन्।

त्यस्तै, जलवायु परिवर्तनका कारण बढ्दो हिमाली जोखिम न्यूनीकरणका लागि विज्ञान, जलवायु वित्त र न्यायलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो। उनले प्रधानमन्त्रीले प्रस्ताव गरेको ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ कार्यान्वयनमा ल्याउनुपर्नेमा पनि जोड दिइन्।

हिमाली मुलुकका लागि निरन्तर वैज्ञानिक अध्ययन तथा अवलोकन, सीमापार तथ्याङ्क आदानप्रदान र बहुप्रकोपीय पूर्वसूचना प्रणालीको विकास आवश्यक रहेको उनले बताइन्।

मन्त्री चौधरीले जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि त्यसको असर र क्षति भने असमान रूपमा व्यहोर्नुपरेको उल्लेख गरिन्।

उनका अनुसार विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान शून्य दशमलव एक प्रतिशतभन्दा कम छ। प्रतिव्यक्ति उत्सर्जनका आधारमा नेपाल विश्वमा १६१औँ स्थानमा रहेको तथा विद्युतीय सवारीसाधनको प्रयोग विस्तारमा नेपाल विश्वकै तेस्रो तीव्र गतिमा अघि बढिरहेको उनले बताइन्।

वन संरक्षणमा नेपालको योगदानबारे चर्चा गर्दै उनले सन् १९९० को दशकदेखि नेपालको वन क्षेत्र निरन्तर विस्तार भइरहेको र हाल झन्डै आधा भूभाग वनले ढाकिएको जानकारी दिइन्।

सम्बोधनका क्रममा मन्त्री चौधरीले हालैको रसुवा–भोटेकोशी विपद्बाट प्रभावित परिवारको पीडालाई जलवायुजन्य सङ्कटको उदाहरणका रूपमा प्रस्तुत गरिन्।

जलवायु सङ्कट सिर्जना गर्न कुनै भूमिका नभएका समुदायले त्यसको सबैभन्दा ठूलो मूल्य चुकाउनुपरेको भन्दै उनले जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराइन्।

मन्त्री चौधरीका अनुसार रसुवा–भोटेकोशी बाढीका कारण नेपालले करिब पाँच अर्ब अमेरिकी डलर बराबरको पुनःस्थापना तथा पुनर्निर्माणको आवश्यकता सामना गरिरहेको छ। आवश्यक स्रोतसाधनमा पहुँच कठिन रहेको उल्लेख गर्दै उनले यसलाई वित्तीय अभाव मात्र नभई न्याय र समानताको विषयसमेत भएको बताइन्।

हिमाललाई विश्वकै पानीका भण्डारको संज्ञा दिँदै उनले हिमाली क्षेत्रमा देखिने जलवायु सङ्कटको असर तल्लो तटीय क्षेत्रका अर्बौँ मानिसको पानी, खाद्य सुरक्षा र जीविकोपार्जनमा पर्ने बताइन्। हिमाली पारिस्थितिक प्रणालीको संरक्षण नेपालको मात्र नभई विश्वकै साझा जिम्मेवारी भएको उनको भनाइ थियो।

यस्ता छन् जलवायु वित्तसम्बन्धी कोपका मस्यौदा प्रस्ताव

कोप–३१ को मस्यौदामा सन् २०३५ सम्म अनुकूलन वित्तलाई तीन गुणा वृद्धि गरी कम्तीमा १२० अर्ब अमेरिकी डलर पुर्‍याउने निर्णय प्रस्ताव गरिएको छ। मस्यौदाले जलवायु वित्तमा विकासोन्मुख देशले भोग्दै आएका अवरोध हटाउनुपर्नेमा जोड दिएको छ।

उच्च ब्याजदर, सीमित वित्तीय क्षमता, बढ्दो ऋणभार, वित्त प्राप्तिका जटिल प्रक्रिया र महँगो प्रशासनिक लागतलाई जलवायु वित्तमा पहुँचका प्रमुख चुनौतीका रूपमा उल्लेख गरिएको छ।

त्यसैगरी, अनुदानमा आधारित, सहुलियतपूर्ण र ऋणको भार नथप्ने वित्तीय सहायता बढाउन तथा अतिकम विकसित देश र साना टापु राष्ट्रलाई जलवायु कोषमा सहज पहुँच उपलब्ध गराउन प्रस्ताव गरिएको छ।

मस्यौदामा जलवायु परिवर्तनबाट हुने हानि तथा नोक्सानी सम्बोधन गर्ने कोषको वित्तीय अवस्थाबारे पनि उल्लेख छ। बार्बाडोस कार्यान्वयन प्रक्रियाअन्तर्गत प्राप्त अनुरोध करिब दुई अर्ब ८० करोड अमेरिकी डलर बराबर रहेकामा उपलब्ध विनियोजन करिब ३४ करोड २० लाख अमेरिकी डलर मात्र रहेको जनाइएको छ।

हानि तथा नोक्सानी कोषका लागि घोषणा गरिएको ८२२ मिलियन अमेरिकी डलरमध्ये करिब ५० प्रतिशत मात्र योगदानमा रूपान्तरण भएको उल्लेख छ।

यसैगरी, जलवायु वित्तसम्बन्धी नयाँ सामूहिक परिमाणात्मक लक्ष्य (एनसिक्युएजी) अन्तर्गत सन् २०३५ सम्म प्रतिवर्ष ३०० अर्ब अमेरिकी डलर उपलब्ध गराउने लक्ष्य कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ।

जलवायु वित्त प्रवाहलाई एक दशमलव तीन ट्रिलियन अमेरिकी डलर पुर्‍याउने बाकु–बेलेम मार्गचित्र कार्यान्वयनलाई निरन्तरता दिनसमेत मस्यौदामा आग्रह गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij