काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ जना सवारीचालक गएको एक महिनामा कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीमा पर्नेमा सबैभन्दा बढी मादक पदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउने चालक छन्।
कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार कात्तिक १ देखि २९ गतेसम्म मापसे गरी सवारी चलाउने दुई हजार ८९२ जना र लागुपदार्थ सेवन (लापसे) गरी सवारी चलाउने ७८ जना चालक कारबाहीमा परेका हुन्।
मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउँदा सडक दुर्घटनाको जोखिम बढ्ने भएकाले यस्ता गतिविधि नियन्त्रण गर्न प्रहरीले नियमित जाँच तथा निगरानी गर्दै आएको छ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ लगायत प्रचलित कानुनी व्यवस्थाले मापसे र लापसे गरी सवारी चलाउन निषेध गरेको छ। यस्तो कार्यमा संलग्न चालकलाई कानुनअनुसार कारबाही गर्ने व्यवस्था छ।
प्रहरीले सवारीचालकलाई ट्राफिक नियम पूर्ण रूपमा पालना गर्न तथा मादक पदार्थ र लागुपदार्थ सेवन गरी सवारीसाधन नचलाउन आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस