शेषनागको शय्यामा जलमाथि शयन गरिरहेका भगवान् नारायणको दर्शनका लागि बूढानीलकण्ठ मन्दिर परिसरमा हरिबोधिनी एकादशीको मेला आयोजना हुने भएको छ। मेलाका लागि मन्दिर परिसरलाई सिँगार्ने तथा आवश्यक व्यवस्थापनका काम भइरहेका छन्।
परापूर्वकालदेखि चल्दै आएको धार्मिक आस्था र निष्ठाको पर्व हरिबोधिनी एकादशीको अवसरमा बूढानीलकण्ठ नारायण मन्दिर गुठी व्यवस्थापन समितिले मंसिर २ गतेदेखि सातदिने ‘सप्ताह ज्ञान महायज्ञ’ तथा मेला आयोजना गर्न लागेको हो। महायज्ञ र मेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।
समितिका अध्यक्ष इन्द्रबहादुर थापाका अनुसार मंसिर ४ गते पर्ने हरिबोधिनी एकादशीलाई मुख्य दिन मानेर त्यसको दुई दिनअघि बिहान ८ः१५ बजे भव्य कलश यात्रासहित महायज्ञ शुभारम्भ हुनेछ। पूर्णिमासम्म सञ्चालन हुने धार्मिक अनुष्ठानलाई व्यवस्थित र भव्य बनाउन स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय तथा समाजसेवी सम्मिलित मूल समारोह समिति गठन गरिएको छ।
‘भक्तजनले छिटोभन्दा छिटो भगवान् विष्णुको दर्शन गरेर फर्किन सक्ने शान्त र आध्यात्मिक वातावरण निर्माण गर्नु हाम्रो मुख्य लक्ष्य हो,’ अध्यक्ष थापाले बताए।
मेलाको व्यवस्थापनका लागि प्रमोद खड्काको नेतृत्वमा धार्मिक समिति, गोपाल कार्कीको संयोजनमा यातायात व्यवस्थापन समिति र मोहन खड्काको नेतृत्वमा अनुगमन समिति गठन गरिएको छ।
त्यस्तै, आर्थिक व्यवस्थापनको जिम्मेवारी धनलाल महर्जन, बजार व्यवस्थापन प्रवेश थापा, स्वयंसेवक परिचालन राधेश्याम श्रेष्ठ र सरसफाइको जिम्मेवारी सविन वाग्लेलाई दिइएको छ। विभिन्न समुदायका बाजागाजासहित सांस्कृतिक झाँकीको संयोजन विकास श्रेष्ठले गर्नेछन् भने प्रचारप्रसारको जिम्मेवारी सेरिन नेपालका रोशन न्यौपानेले सम्हालेका छन्।
मेलामा आउने सवारीसाधनको चापलाई ध्यानमा राख्दै बूढानीलकण्ठ स्कुलको पार्किङस्थल प्रयोग गर्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस