२०८३, मंसिर १२ गते

शुक्रवार, मंसिर १२ गते २०८३

जेनजी आन्दोलनका बेला राष्ट्रपतिको सुरक्षा कमान्ड सम्हालेका बैदवारलाई उपरथीमा बढुवा गर्ने तयारी

आइतवार, कार्तिक ३० २०८३०४:२३

नेपाली सेनाका सहायक रथी मनोज बैदवारलाई उपरथी पदमा बढुवा गर्न प्रक्रिया अघि बढाइएको छ । जङ्गी अड्डाले बढुवा सिफारिस गर्नुअघि आवश्यक सूचना प्रकाशन गरेको हो ।

हाल मध्यपश्चिम पृतना हेडक्वार्टरमा कार्यरत बैदवार २०८२ भदौमा भएको जेनजी आन्दोलनका बेला राष्ट्रपति कार्यालयको सुरक्षाको मुख्य कमान्ड सम्हालिरहेका थिए ।

भदौ २४ गते प्रदर्शनकारीहरू शीतल निवास प्रवेश गरी राष्ट्रपति कार्यालय तथा निवासमा आगजनी गरेका थिए । त्यसक्रममा नेपाली सेनाले राष्ट्रपतिलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको थियो ।

राष्ट्रपति कार्यालयको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन नसकेको भन्दै गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग र राष्ट्रिय मानव अधिकार आयोगले बैदवारमाथि विभागीय कारबाही गर्न सिफारिस गरेका थिए । तर, उनीमाथि हालसम्म कुनै कारबाही भएको छैन ।

यसैबीच, सैनिक ऐन, २०६३ को परिच्छेद ४ को दफा २१ तथा सैनिक सेवा नियमावली, २०६९ अनुसार उनलाई उपरथीमा बढुवा सिफारिस गर्ने प्रक्रिया अघि बढाइएको सेनाका एक उच्च अधिकृतले बताएका छन् ।

बढुवा सिफारिसप्रति असहमति हुनेले सैनिक सचिव विभागमा उजुरी दिन सक्नेछन् । उजुरीमाथिको प्रक्रिया टुंगिएपछि जङ्गी अड्डाले बढुवाका लागि रक्षा मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा सिफारिस गर्ने कानुनी व्यवस्था रहेको छ ।

यसैगरी, नेपाली सेनामा रथी पदमा बढुवाका लागि उपरथी अनुपजंग थापाको नाम सिफारिस गरिएको छ । आवश्यक प्रक्रिया पूरा गरी उनको सिफारिस रक्षा मन्त्रालय पठाइसकिएको सैनिक अधिकारीहरूले बताएका छन् ।

हालका रथी गणेश श्रेष्ठ मंसिर पहिलो साता अवकाशमा जाने भएकाले उनको स्थानमा अनुपजंग थापा बढुवा हुन लागेका हुन् ।

त्यस्तै, मंसिर तेस्रो साता अर्का रथी प्रदीपजंग केसी पनि अवकाशमा जाँदैछन् । उनको स्थानमा उपरथी मधुकर कार्कीलाई बढुवा सिफारिस गर्न सूचना प्रकाशन गरिएको छ ।

उच्च सैनिक अधिकारीहरू अवकाशअघि नै बिदामा बस्ने प्रचलन रहेकाले रिक्त हुन लागेका पदमा समयमै बढुवा प्रक्रिया अघि बढाइएको सैनिक स्रोतले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij