मृत्युदण्ड कार्यान्वयनमा स्थगन गर्न आह्वान गर्दै संयुक्त राष्ट्रसंघीय महासभामा पेस गरिएको प्रस्ताव पारित भएको छ । मेक्सिकोले प्रस्तुत गरेको उक्त प्रस्ताव शुक्रबार पारित भएको समाचार संस्था पीटीआईले जनाएको छ ।
१९३ सदस्यीय महासभामा प्रस्तावको पक्षमा १३३ देशले मतदान गरेका थिए भने भारतसहित ३३ देश विपक्षमा उभिएका थिए । १६ देश मतदानमा अनुपस्थित रहे ।
भारतसँगै बहराइन, चीन, इजिप्ट, इरान, इराक, जापान, कुवेत, माल्दिभ्स, ओमान, पाकिस्तान, कतार, साउदी अरब र अमेरिका प्रस्तावको विपक्षमा रहेका थिए ।
प्रस्तावमा मृत्युदण्डको निरन्तर प्रयोगप्रति गहिरो चिन्ता व्यक्त गर्दै यसको उन्मूलन गर्ने उद्देश्यसहित कार्यान्वयनमा स्थगन लगाउन सबै देशलाई आह्वान गरिएको छ । मृत्युदण्ड उन्मूलन गरिसकेका देशलाई पुनः लागू नगर्न पनि आग्रह गरिएको छ ।
विश्वव्यापी रूपमा मृत्युदण्डको प्रयोग सीमित हुँदै गए पनि सन् २०२५ मा यसको कार्यान्वयनका रिपोर्ट गरिएका घटनामा उल्लेखनीय वृद्धि भएको भन्दै प्रस्तावमा चिन्ता व्यक्त गरिएको छ ।
त्यस्तै, मृत्युदण्डको प्रयोग क्रमशः सीमित गर्न र अपराध गर्दाका बेला १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई यस्तो सजाय नदिन आग्रह गरिएको छ । उमेर यकिन गर्न नसकिने अवस्थामा पनि यो प्रतिबन्ध लागू हुनुपर्ने प्रस्तावमा उल्लेख छ ।
गर्भवती महिला, मानसिक वा बौद्धिक अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकलाई मृत्युदण्ड नदिन पनि प्रस्तावले आह्वान गरेको छ । यसका साथै अनिवार्य मृत्युदण्डको व्यवस्था अन्त्य गर्न र मृत्युदण्ड दिन सकिने अपराधको दायरा घटाउन सदस्य राष्ट्रहरूलाई आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस