सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिनकुमार आचार्यले पार्टीको चीन भ्रमणमा नेपालको राज्यकोषबाट कुनै खर्च नहुने स्पष्ट पारेका छन्। चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा आइतबार (कात्तिक २९) देखि १० दिने चीन भ्रमणमा जान लागेको प्रतिनिधिमण्डलको सम्पूर्ण खर्च चिनियाँ पक्षले नै व्यहोर्ने उनले बताएका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री आचार्यले विदेश भ्रमणको औचित्य र खर्चबारे रास्वपाका सांसदहरूले उठाउँदै आएका प्रश्नलाई विरोधका रूपमा बुझ्न नहुने बताए।
उनका अनुसार विदेश भ्रमणमा जाने प्रतिनिधिमण्डलको उद्देश्य, त्यसबाट प्राप्त हुने उपलब्धि, राज्यकोषको सदुपयोग तथा सहभागी व्यक्तिहरूको उपयुक्तताबारे प्रश्न उठाउनु स्वाभाविक हो।
आचार्यले चीनको कम्युनिस्ट पार्टीको निमन्त्रणामा हुन लागेको भ्रमण पूर्णतः औपचारिक रहेको उल्लेख गर्दै नेपालबाट प्रस्थानदेखि स्वदेश फर्किएसम्मको सम्पूर्ण व्यवस्थापन चिनियाँ पक्षले गर्ने जानकारी दिए।
“जहाँसम्म हाम्रो चीन भ्रमणको कुरा छ, यो कम्युनिस्ट पार्टी अफ चाइनाको निमन्त्रणामा हुन लागेको औपचारिक भ्रमण हो। हाम्रो जानेदेखि फर्किने समयसम्मको सम्पूर्ण लजिस्टिक व्यवस्थापन चीन पक्षले नै गर्ने भएकाले यस भ्रमणमा नेपालको राज्यकोषबाट खर्च हुने छैन,” उनले भने।
उनले विदेश भ्रमणमा हुने खर्च र त्यसको औचित्यबारे पार्टीभित्रैबाट प्रश्न उठाइनुलाई सकारात्मक रूपमा लिनुपर्ने धारणा राखे। भ्रमणलाई पारदर्शी, जवाफदेही र परिणाममुखी बनाउन यस्ता प्रश्न आवश्यक रहेको उनको भनाइ छ।
यसअघि पनि रास्वपाका सांसदहरूले विभिन्न सरकारी तथा राजनीतिक भ्रमणको औचित्य, खर्च र त्यसबाट प्राप्त हुने उपलब्धिबारे प्रश्न उठाउँदै आएका थिए।
चीन भ्रमणका क्रममा रास्वपा प्रतिनिधिमण्डलले दुई देशका सत्तारूढ दलबीचको सम्बन्ध विस्तार, विपद्पछिको व्यवस्थापन तथा आर्थिक सहकार्यका सम्भावनाबारे छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस