२०८३, मंसिर १२ गते

शुक्रवार, मंसिर १२ गते २०८३

अमेरिकामा एटीसी प्रणालीमा खराबी : ८ हजारभन्दा बढी उडान रद्द, १५ लाख यात्रु प्रभावित

शनिवार, कार्तिक २९ २०८३०१:२३

अमेरिकाको एयर ट्राफिक कन्ट्रोल (एटीसी) सञ्चार प्रणालीमा प्राविधिक खराबी आएपछि शुक्रबार चार घण्टाभन्दा बढी समयसम्म देशभरका विमानको उडान रोक्नुपरेको छ । सुरक्षा जोखिमलाई मध्यनजर गर्दै अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले विभिन्न विमानस्थलमा ‘ग्राउन्ड स्टप’ आदेश जारी गरेको थियो ।

उक्त अवरोधका कारण आठ हजारभन्दा बढी उडान रद्द भएका छन् भने करिब १५ लाख यात्रु प्रभावित भएको विवरण सार्वजनिक भएको छ ।

शुक्रबार राति उडानमाथिको प्रतिबन्ध हटाइए पनि शनिबारसम्म ठूलो सङ्ख्यामा उडान रद्द तथा ढिलाइ भएका छन् । विमान र चालक दलका सदस्य निर्धारित स्थानमा पुग्न नसक्दा उडान तालिका सामान्य अवस्थामा फर्काउन कठिनाइ भएको हो ।

सन् २००१ सेप्टेम्बर ११ को आतंकवादी हमलापछि अमेरिकामा देशव्यापी रूपमा उडान रोकिएको घटनापछि यो अर्को ठूलो उडान अवरोधका रूपमा देखिएको छ । यसअघि सन् २०२३ जनवरीमा एफएएको मुख्य कम्प्युटर प्रणालीमा खराबी आउँदा पनि देशभरका उडान प्रभावित भएका थिए ।

एटीसी प्रणाली आधुनिकीकरण गर्न ३० अर्ब डलर माग

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको एयर ट्राफिक कन्ट्रोल प्रणालीलाई आधुनिकीकरण गर्न ३० अर्ब अमेरिकी डलर अतिरिक्त बजेट माग गरेका छन् ।

उनले रिपब्लिकन सिनेटर एरिक स्मिटसँग फोनमा कुराकानी गर्दै यससम्बन्धी विधेयक कंग्रेसबाट छिट्टै पारित गराउन आग्रह गरेका छन् । प्रस्तावित रकमबाट एयर ट्राफिक कन्ट्रोल प्रणाली, विमानस्थलका टावर, टर्मिनल तथा अन्य अत्यावश्यक उड्डयन पूर्वाधारको स्तरोन्नति गरिनेछ ।

यसैबीच, अमेरिकी यातायातमन्त्री सन डफीले एटीसी प्रणालीको आधुनिकीकरणका लागि ५० अर्ब डलर आवश्यक रहेको बताएका छन् । उनले सामान्य मर्मतसम्भारले मात्र समस्या समाधान नहुने भन्दै पुरानो प्रणालीलाई पूर्ण रूपमा आधुनिक बनाउनुपर्नेमा जोड दिएका छन् ।

गत वर्ष कंग्रेसले यस प्रयोजनका लागि १२ अर्ब ५० करोड डलर स्वीकृत गरेको थियो । पर्याप्त बजेट उपलब्ध नगराएको भन्दै मन्त्री डफीले कंग्रेसको आलोचनासमेत गरेका छन् ।

साइबर आक्रमणको संकेत भेटिएन

अमेरिकाका होमल्यान्ड सेक्युरिटी मन्त्री मार्कवेन मुलिनले एटीसी सञ्चार प्रणालीमा आएको खराबी साइबर आक्रमणका कारण भएको कुनै संकेत नदेखिएको बताएका छन् ।

ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रारम्भिक अनुसन्धानबाट समस्या दूरसञ्चार प्रणालीको प्राविधिक खराबीसँग सम्बन्धित देखिएको जानकारी दिएका थिए । यद्यपि, घटनाको वास्तविक कारण भने अझै पुष्टि हुन सकेको छैन ।

उडान रोकिएको समयमा आकाशमा रहेका विमानलाई सुरक्षित रूपमा अवतरण गर्न अनुमति दिइएको थियो । तर विमानस्थलमा रहेका विमानलाई भने उडान भर्न रोक लगाइएको थियो । विदेशबाट अमेरिका आउँदै गरेका अन्तर्राष्ट्रिय उडानका हकमा भने परिस्थितिअनुसार छुट्टाछुट्टै निर्णय गरिएको थियो ।

सिकागोबाट सुरु भएको थियो उडान अवरोध

प्राप्त विवरणअनुसार अमेरिकाभर एकैपटक उडान रोकिएको थिएन । सुरुमा सिकागोका ओ’हारे र मिडवे विमानस्थलमा सञ्चार प्रणालीमा समस्या देखिएपछि उडान रोकिएको थियो ।

पछि अन्य एयर ट्राफिक कन्ट्रोल केन्द्रमा समेत समस्या देखिएपछि देशव्यापी रूपमा ‘ग्राउन्ड स्टप’ लागू गरिएको थियो ।

पुरानो प्रविधि विस्थापन गर्ने तयारी

सञ्चार प्रणालीमा आएको खराबी नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रणालीसँग सम्बन्धित छ वा छैन भन्ने विषयमा एफएएका अधिकारीहरूले अनुसन्धान गरिरहेका छन् ।

नयाँ एआई प्रणालीले एयर ट्राफिक कन्ट्रोललाई सम्भावित समस्याको पहिचान गर्न तथा विमानको मार्ग परिवर्तन गर्न सुझाव दिने उद्देश्य राखेको छ ।

अमेरिकी सरकारले पुरानो हवाई सञ्चार पूर्वाधार विस्थापन गर्दै फाइबर अप्टिक केबल र आधुनिक रेडियो प्रणाली जडान गर्ने काम अघि बढाइरहेको छ । तर आधुनिकीकरण परियोजनाको काम अझै पूर्ण हुन सकेको छैन ।

उडान रद्द भए यात्रुले पूरा रकम फिर्ता पाउने

अमेरिकामा उडान रद्द भएमा यात्रुले टिकटबापत तिरेको पूरा रकम फिर्ता पाउने व्यवस्था छ । उडान रद्द हुनुको कारण जेसुकै भए पनि यो नियम लागू हुने अमेरिकी उड्डयनसम्बन्धी व्यवस्थामा उल्लेख छ ।

त्यस्तै, उडानमा उल्लेख्य ढिलाइ वा समय परिवर्तन हुँदा यात्रुले यात्रा नगर्ने निर्णय गरेमा पनि रकम फिर्ता माग गर्न सक्ने व्यवस्था छ ।

थ्याङ्क्सगिभिङ पर्वको बिदाभन्दा करिब दुई साताअघि भएको यो अवरोधले अमेरिकी हवाई यातायात क्षेत्रमा थप दबाब सिर्जना गरेको छ । ‘एयरलाइन्स फर अमेरिका’ का अनुसार बिदाको समयमा अमेरिकी विमान सेवामार्फत दैनिक औसत २७ लाख यात्रुले यात्रा गर्ने अनुमान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij