२०८३, मंसिर १२ गते

शुक्रवार, मंसिर १२ गते २०८३

राष्ट्रपति पौडेलद्वारा छठ पर्वको शुभकामना, राष्ट्रिय एकता र सामाजिक सद्भाव सुदृढ हुने विश्वास

शनिवार, कार्तिक २९ २०८३१२:३८

राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्व, २०८३ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

छठ पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले यस पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति तथा विसङ्गतिको अन्त्य गर्दै राष्ट्रिय एकता अभिवृद्धि गर्न प्रेरणा दिने विश्वास व्यक्त गरेका हुन् ।

उनले छठ पर्वले मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्नुका साथै नेपालीबीच आपसी सद्भाव र सामाजिक एकतालाई थप सुदृढ बनाउने उल्लेख गरेका छन् ।

खासगरी तराई तथा मधेस क्षेत्रमा परम्परागत रूपमा मनाइँदै आएको छठ पर्व पछिल्लो समय काठमाडौँ उपत्यकासहित पहाडी तथा हिमाली जिल्लाहरूमा समेत श्रद्धा र भक्तिपूर्वक मनाउने क्रम बढ्दै जानु खुसीको विषय भएको राष्ट्रपति पौडेलले सन्देशमा उल्लेख गरेका छन् ।

सूर्य, जल र पृथ्वीप्रति श्रद्धा व्यक्त गर्दै छठी माताको पूजा, आराधना तथा व्रत बस्ने परम्परा रहेको यस पर्वमा नदी, खोला, पोखरी र तालतलैयाका किनारमा जाग्राम बसेर पूजा गर्ने गरिन्छ ।

दीर्घायु, स्वच्छता, सात्त्विक भोजन, संयमता र समृद्धिको कामनासहित मनाइने छठ पर्वले प्रकाश र ऊर्जा प्रदान गर्ने सूर्यदेवको आराधनामार्फत सामाजिक तथा प्राकृतिक सन्तुलनको सन्देश प्रवाह गर्दै आएको राष्ट्रपति पौडेलको भनाइ छ ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर मनाइने यस पर्वले प्रकृतिप्रतिको सम्मान, पर्यावरणीय चेतना तथा पारिवारिक ऐक्यबद्धतालाई समेत अभिव्यक्त गर्ने उनले बताएका छन् ।

राष्ट्रपति पौडेलले छठ पर्वले सबै प्रकारका सामाजिक विभेद र विसङ्गतिको अन्त्य गर्दै मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धि हासिल गर्ने दिशामा प्रेरणा प्रदान गरोस् भन्दै छठी माता र सूर्य भगवान्सँग सबैको कल्याणको कामना गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij