नेपाली सेनाले विभिन्न सेवा तथा समूहका अधिकृत पदमा ५० जना कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको छ ।
जङ्गी अड्डास्थित भर्ना छनोट निर्देशनालयले शुक्रबार (कात्तिक २७ गते) सूचना प्रकाशित गर्दै प्राड, प्राविधिक, हवाई तथा विविध सेवातर्फ २० वटा विज्ञापनमार्फत उपसेनानी पदमा खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्न आवेदन माग गरेको हो ।
सेनाले माग गरेको कुल ५० पदमध्ये खुलातर्फ २८ र समावेशीतर्फ २० सिट छुट्याइएको छ । समावेशी कोटाअन्तर्गत आदिवासी/जनजाति र दलिततर्फ ५/५, महिला र मधेसीतर्फ ४/४ तथा पिछडिएको क्षेत्रतर्फ २ सिट रहेका छन् । त्यसैगरी, सैनिक तालिम वा कर्तव्य पालनाका क्रममा मृत्यु भएका वा शारीरिक रूपमा अशक्त नेपाली सैनिकका सन्ततिका लागि २ सिट आरक्षित गरिएको छ ।
कुन सेवामा कति पद ?
सेवागत विवरणअनुसार सबैभन्दा धेरै सैनिक प्राविधिक सेवातर्फ ३० जना माग गरिएको छ ।
प्राविधिक सेवाअन्तर्गत स्वास्थ्य समूहमा १४ जना माग गरिएको छ । जसमा एमबीबीएस डाक्टर ९ जना तथा डेन्टिस्ट डाक्टर, अडियोलोजिस्ट एन्ड स्पिच ल्याङ्ग्वेज प्याथोलोजिस्ट, फिजियोथेरापिस्ट, पब्लिक हेल्थ एन्ड हाइजिन टेक्निसियन र फुड एन्ड न्युट्रिसन टेक्निसियन एक/एक जना रहेका छन् ।
त्यस्तै, इन्जिनियरिङ समूहमा १४ जना माग गरिएको छ । यसअन्तर्गत सिभिल र कम्प्युटर इन्जिनियर ३/३ जना, मेकानिकल र आर्किटेक्चर इन्जिनियर २/२ जना तथा इलेक्ट्रिकल, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स, बायोमेडिकल र अटोमोबाइल इन्जिनियर एक/एक जना माग गरिएको छ । अन्य प्राविधिकतर्फ लाइब्रेरियनका लागि २ पद छुट्याइएको छ ।
यसैगरी, सैनिक विविध सेवाअन्तर्गत लेखा उपसेनानीमा १३ जना, सैनिक हवाई सेवामा ५ जना र सैनिक प्राड सेवाअन्तर्गत प्राड उपसेनानीमा २ जना माग गरिएको छ ।
हवाई सेवाका पाँच पदमध्ये पाइलट उपसेनानी ३ जना, ए. एन्ड सी. इन्जिनियर १ जना र एभियसन बन्दोबस्ती तथा प्राप्तीतर्फ १ जना रहेका छन् ।
कस्तो शैक्षिक योग्यता चाहिन्छ ?
पदअनुसार आवश्यक शैक्षिक योग्यता फरक–फरक तोकिएको छ ।
प्राड उपसेनानीका लागि कानुनमा स्नातक उत्तीर्ण गरी नेपाल कानुन व्यवसायी परिषद्बाट अधिवक्ताको प्रमाणपत्र प्राप्त गरेको हुनुपर्नेछ ।
एमबीबीएस, बीडीएस तथा अन्य स्वास्थ्य र इन्जिनियरिङ पदका लागि सम्बन्धित विषयमा स्नातक वा बीई/बीटेक उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ ।
त्यस्तै, पाइलट उपसेनानीका लागि भौतिक विज्ञान विषयसहित कक्षा १२ उत्तीर्ण गरी कमर्सियल पाइलट लाइसेन्स (सीपीएल) प्राप्त गरेको हुनुपर्नेछ ।
एभियसन बन्दोबस्ती पदका लागि स्नातक उत्तीर्ण, लाइब्रेरियनका लागि लाइब्रेरी साइन्समा स्नातक गरी नेपाल लाइब्रेरी एसोसिएसनमा दर्ता भएको हुनुपर्नेछ ।
लेखा उपसेनानीका लागि वाणिज्यशास्त्रमा स्नातक उत्तीर्ण हुनुका साथै कम्तीमा तीन महिनाको कम्प्युटर आधारभूत र दुई महिनाको कम्प्युटर एकाउन्टिङ तालिम लिएको हुनुपर्ने सूचनामा उल्लेख छ ।
कहिलेसम्म दिन सकिन्छ आवेदन ?
इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले कात्तिक २७ देखि मंसिर १७ गतेसम्म सामान्य दस्तुरमा आवेदन दिन सक्नेछन् । मंसिर १८ देखि २४ गतेसम्म दोब्बर दस्तुर बुझाएर आवेदन दिन सकिनेछ ।
दरखास्त दस्तुर १ हजार रुपैयाँ तोकिएको छ । एउटै विज्ञापनमा एकभन्दा बढी समूहमा आवेदन दिएमा प्रत्येक थप समूहका लागि २० प्रतिशत अतिरिक्त दस्तुर लाग्नेछ ।
आवेदकले नेपाली सेनाको आधिकारिक वेबसाइट www.nepalarmy.mil.np बाट अनलाइन दरखास्त फाराम भर्नुपर्नेछ ।
फारामको प्रिन्ट प्रति र दस्तुर बुझाएको सक्कल भौचर वा अनलाइन भुक्तानी रसिदको प्रतिलिपिसहित नेपाली सेना केन्द्रीय भर्ना छनोट केन्द्र, स्वयम्भूमा स्वयं उपस्थित भएर दरखास्त बुझाउनुपर्नेछ ।
सामान्य वा दोब्बर दस्तुर बुझाउने अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुलेको दिन दस्तुर बुझाई फाराम दर्ता गर्न सकिने सेनाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस