प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सडक दुर्घटना न्यूनीकरणका लागि सरकारले सडक सुरक्षा प्रणालीमा ठोस सुधार गर्नुपर्ने बताएका छन् ।
मकवानपुरको चिसापानीगढीमा बिहीबार भएको यात्रुवाहक ईभी हाइस दुर्घटनामा १४ जनाको मृत्यु र ६ जना घाइते भएपछि उनले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
छठ पर्व मनाउन परिवारसहित घर फर्किरहेका यात्रु सवार ईभी हाइस दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आङ्देम्बेले शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्पूर्ण उपचारको व्यवस्था मिलाउन सरकारसँग मागसमेत गरेका छन् ।
उनले सवारीसाधनको प्राविधिक अवस्था, निर्धारित यात्रु क्षमताको पालना तथा प्रहरी चेकपोस्टमा यात्रुको विवरण अद्यावधिक भए–नभएको विषयमा निष्पक्ष छानबिन गर्नुपर्ने बताएका छन् ।
'नागरिकको ज्यान जोगाउनु सरकारको पहिलो दायित्व हो । सडक सुरक्षा, सवारीको प्राविधिक परीक्षण, यात्रुको विवरण अभिलेख र प्रहरीको निगरानी प्रभावकारी बनाउन सरकार किन गम्भीर हुँदैन ?' उनले प्रश्न गरेका छन् ।
आङ्देम्बेले यसअघि रोल्पाको जलजलामा भएको दुर्घटनामा २० जनाको मृत्यु भएपछि सरकारले गठन गरेको छानबिन समितिको प्रतिवेदनसमेत सार्वजनिक नगरेको भन्दै असन्तुष्टि जनाएका छन् ।
हरेक दुर्घटनापछि छानबिन समिति गठन गर्ने, केही दिन चर्चा गर्ने तर प्रतिवेदन सार्वजनिक नगरी घटनालाई बिर्सने सरकारी प्रवृत्तिको अन्त्य हुनुपर्ने उनको भनाइ छ ।
'हरेक दुर्घटनापछि छानबिन समिति बनाउने, केही दिन चर्चा गर्ने र त्यसपछि घटनालाई बिर्सने सरकारी प्रवृत्तिको अन्त्य हुनुपर्छ,' उनले भनेका छन् ।
उनले सडक सुरक्षालाई प्राथमिकतामा राखेर दुर्घटनाका वास्तविक कारण पहिचान गर्न, दोषीमाथि कारबाही गर्न र भविष्यमा यस्ता दुर्घटना दोहोरिन नदिन प्रभावकारी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस