२०८३, मंसिर १२ गते

शुक्रवार, मंसिर १२ गते २०८३

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्ती आज मनाइँदै

आइतवार, कार्तिक २३ २०८३०९:५९

नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्ती आज विविध साहित्यिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी मनाइँदै छ।

नेपाली साहित्यमा आफ्ना कालजयी कृतिमार्फत अतुलनीय योगदान पुर्‍याएका देवकोटाको जन्मजयन्ती प्रत्येक वर्ष लक्ष्मीपूजाका दिन नेपालसहित भारतका विभिन्न क्षेत्र तथा नेपाली भाषीको बाहुल्य रहेका स्थानमा मनाउने गरिन्छ।

विसं १९६६ साल कात्तिक कृष्ण औँसीका दिन पिता तिलमाधव देवकोटा र माता अमरराज्यलक्ष्मीका साइँला छोराका रूपमा काठमाडौंमा जन्मिएका देवकोटाले नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराको सुरुवात गरेका थिए। लक्ष्मीपूजाका दिन जन्मिएकाले उनलाई लक्ष्मीको प्रसादका रूपमा लिई लक्ष्मीप्रसाद नामकरण गरिएको बताइन्छ।

तत्कालीन राणा शासनका बेला सर्वसाधारणले पनि अध्ययन गर्न पाउनुपर्ने अभियानमा सक्रिय देवकोटा पुस्तकालय काण्डका प्रमुख सदस्यसमेत थिए। अध्ययनको अधिकारका लागि आवाज उठाएका कारण उनले पटक–पटक जेल जीवनसमेत बिताउनुपरेको थियो।

देवकोटाका चर्चित कृतिहरूमा ‘मुनामदन’ खण्डकाव्य, ‘शाकुन्तल’ महाकाव्य, ‘भिखारी’ कविता सङ्ग्रह, ‘लक्ष्मी’ कविता सङ्ग्रह, ‘मायाविनी सर्सी’ खण्डकाव्य र ‘प्रमिथस’ महाकाव्यलगायत रहेका छन्।

विज्ञान विषयमा प्रमाणपत्र तहको अध्ययन पूरा गरेपछि मानविकी सङ्कायमा प्रवेश गरेका देवकोटाले अंग्रेजी विषयमा स्नातकोत्तर अध्ययन गरेका थिए। यद्यपि, नेपाली साहित्यमा गरेको सिर्जनात्मक योगदानले उनलाई विश्वभर परिचित गराएको छ।

नेपाली साहित्यमा नयाँ प्रयोग र मौलिक सिर्जनामार्फत विशिष्ट पहिचान बनाएका देवकोटा विसं २०१५ सालमा गठित नेपालको पहिलो जननिर्वाचित सरकारमा शिक्षा मन्त्रीसमेत बनेका थिए।

नेपाली भाषा र साहित्यलाई समृद्ध बनाउन उनले पुर्‍याएको योगदानको सम्मानस्वरूप आज पनि विभिन्न साहित्यिक संस्था, विद्यालय तथा सांस्कृतिक प्रतिष्ठानहरूले जन्मजयन्तीका अवसरमा कविता वाचन, साहित्यिक गोष्ठी र स्मृतिसभालगायत कार्यक्रम आयोजना गर्दै आएका छन्।

देवकोटाको जन्मघरलाई सरकारले संग्रहालयका रूपमा विकास गरेको छ। उनको साहित्यिक योगदान नेपाली भाषा र साहित्यको इतिहासमा सदैव स्मरणीय रहनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij