२०८३, मंसिर १२ गते

शुक्रवार, मंसिर १२ गते २०८३

साइबर ठगी नियन्त्रण गर्न २४ घण्टे एकीकृत प्रतिकार्य केन्द्र सुरु, ६० मिनेटभित्रै कारबाही गर्ने गृहमन्त्री गुरुङको घोषणा

शनिवार, कार्तिक २२ २०८३०९:०८

काठमाडौं । साइबर ठगी तथा अनलाइन आर्थिक अपराध नियन्त्रण गर्न नेपाल प्रहरीले २४ घण्टे एकीकृत साइबर अपराध प्रतिकार्य केन्द्र सञ्चालनमा ल्याएको छ।

गृहमन्त्री सुदन गुरुङले सामाजिक सञ्जालमार्फत उक्त केन्द्रको सुरुवातसँगै साइबर ठगीविरुद्ध तत्काल र समन्वयात्मक रूपमा कारबाही अघि बढाइने बताएका छन्।

नेपाल प्रहरी, नेपाल राष्ट्र बैंक, बैंकिङ क्षेत्र तथा दूरसञ्चार क्षेत्रका प्रतिनिधिलाई एउटै संयन्त्रमा आबद्ध गरी केन्द्र सञ्चालन गरिएको उनले उल्लेख गरेका छन्।

गुरुङका अनुसार केन्द्रले परम्परागत कागजी प्रक्रिया र विभिन्न निकायबीचको समन्वयमा हुने ढिलाइ अन्त्य गर्दै ठगीमा परेको रकम तत्काल रोक्का गर्ने लक्ष्य राखेको छ। यसका लागि कारोबारको विवरण अर्थात् रकमको प्रवाह पहिचान गर्ने, सम्बन्धित बैंक खाता तथा डिजिटल वालेट रोक्का गर्ने र ठगीमा प्रयोग भएका मोबाइल नम्बर तथा सिमकार्ड निष्क्रिय बनाउने व्यवस्था गरिएको छ।

केन्द्रको कार्यविधिअनुसार उजुरी प्राप्त भएको १० मिनेटभित्र दर्ता तथा प्राथमिकता निर्धारण, १० देखि ३० मिनेटभित्र रकमको कारोबार विवरण पहिचान र १० देखि ६० मिनेटभित्र सम्बन्धित खाता तथा रकम रोक्का गर्ने प्रक्रिया अघि बढाइनेछ।

साइबर ठगीसम्बन्धी उजुरी तथा सूचना दिन चौबिसै घण्टा उपलब्ध हुने गरी १२४७ आकस्मिक सम्पर्क नम्बर समेत सञ्चालनमा ल्याइएको छ।

गृहमन्त्री गुरुङले नागरिकको जीवनभरको कमाइलाई फोन, सन्देश तथा अनलाइन माध्यमबाट हुने ठगीबाट जोगाउनु सरकारको प्राथमिकता भएको उल्लेख गर्दै डिजिटल नेपाललाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।

नेपाल प्रहरीका अनुसार गृह मन्त्रालयको स्वीकृत कार्यसञ्चालन निर्देशिका, २०८३ बमोजिम काठमाडौंको सामाखुसीस्थित साइबर ब्युरोको नयाँ भवनमा केन्द्र स्थापना गरिएको हो। केन्द्रले साइबर ठगी नियन्त्रण, अनुसन्धान र पीडितको रकम सुरक्षित राख्ने कार्यलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij