२०८३, मंसिर १२ गते

शुक्रवार, मंसिर १२ गते २०८३

तिहार : आस्था, सद्भाव र आत्मीयताको अनुपम संगम

शनिवार, कार्तिक २२ २०८३०८:५०

नेपालीहरूको प्रमुख सांस्कृतिक पर्व यमपञ्चक अर्थात् तिहार धार्मिक आस्था, सांस्कृतिक परम्परा, प्रकृतिप्रतिको सम्मान र पारिवारिक आत्मीयताको अनुपम सङ्गम हो।

पाँच दिनसम्म मनाइने यस पर्वले मानव, पशुपक्षी र प्रकृतिबीचको सहअस्तित्व, प्रेम, करुणा तथा कृतज्ञताको सन्देश दिन्छ।

कार्तिक कृष्णत्रयोदशीदेखि शुक्लद्वितीयासम्म मनाइने तिहारका प्रत्येक दिनको आफ्नै धार्मिक तथा सांस्कृतिक महत्त्व छ।

पौराणिक मान्यताअनुसार सूर्यपुत्र यमदेव र उनकी बहिनी यमुनाबीचको प्रेम तथा आत्मीयतासँग यमपञ्चकको सम्बन्ध जोडिएको छ। यमुनाले आफ्ना दाजु यमदेवलाई पाँच दिनसम्म घरमा निमन्त्रणा गरी सत्कार गरेकी थिइन्।

बहिनीको व्यवहारबाट प्रसन्न भएका यमदेवले उनको इच्छाअनुसार यस दिन भ्रातृपूजा गर्ने दाजुभाइको आयु, कीर्ति र समृद्धि वृद्धि हुने तथा दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्ध अटल रहने वरदान दिएका थिए।

यही धार्मिक विश्वासका आधारमा यमपञ्चक मनाउने परम्परा प्रचलित भएको मानिन्छ।

काग तिहार र धन्वन्तरी पूजा

यमपञ्चकको पहिलो दिन कार्तिक कृष्णत्रयोदशीका दिन काग तिहार मनाइन्छ। कागलाई यमराजको दूत तथा सन्देशवाहकका रूपमा सम्मान गर्दै अन्न, दहीभात र अन्य खाद्यपदार्थ अर्पण गरी पूजा गर्ने परम्परा छ। यसले पशुपक्षीप्रति सम्मान र प्रकृतिसँगको सम्बन्धलाई आत्मसात् गर्न प्रेरित गर्दछ।

यसै दिन धनत्रयोदशी अर्थात् धनतेरस पनि मनाइन्छ। भगवान् धन्वन्तरीको जन्मजयन्तीका रूपमा विशेष पूजा गरी आरोग्य, दीर्घायु र निरोगी जीवनको कामना गरिन्छ। धन्वन्तरीलाई आयुर्वेदका आदिपुरुष तथा स्वास्थ्य र चिकित्साविज्ञानका अधिष्ठाता देवताका रूपमा श्रद्धापूर्वक स्मरण गरिन्छ। पछिल्लो समय यस दिन नयाँ भाँडाकुँडा तथा धातुका सामग्री खरिद गर्ने चलनसमेत बढेको छ।

कुकुर तिहार

यमपञ्चकको दोस्रो दिन कुकुरपूजा गरिन्छ। कुकुरलाई यमराजको प्रिय दूत, भैरवको वाहन तथा यमलोकको द्वारपालका रूपमा मानिन्छ। यस दिन कुकुरलाई टीका लगाएर फूलको माला पहिर्‍याउने र मिठा परिकार खुवाउने परम्परा छ।

मानिसको सुरक्षामा सहयोग गर्ने, स्वामिभक्त र रक्षक प्राणीका रूपमा कुकुरप्रति कृतज्ञता व्यक्त गर्नु यस पूजाको मुख्य उद्देश्य हो। यसै दिन नरकचतुर्दशीका रूपमा बिहानै तेल लगाएर स्नान गर्ने धार्मिक परम्परासमेत रहेको छ।

गाई तथा लक्ष्मीपूजा

यमपञ्चकको तेस्रो दिन कार्तिक कृष्णऔँसीका दिन गाईपूजा र लक्ष्मीपूजा गरिन्छ। गाईलाई माता लक्ष्मीको स्वरूप, पोषण तथा समृद्धिको प्रतीकका रूपमा पूजा गरिन्छ। यस दिन गाईलाई टीका लगाएर माला पहिर्‍याउने र भोजन अर्पण गर्ने चलन छ।

साँझ धनसमृद्धि र सौभाग्यकी देवी भगवती लक्ष्मीको पूजा गरिन्छ। घरआँगन सफा गरी दीप प्रज्वलन गर्ने, झिलिमिली बत्ती बाल्ने र घरको मूलढोकादेखि पूजास्थलसम्म लक्ष्मीका पाइला बनाउने परम्परा छ। यस दिन दीपावली मनाउनुका साथै भैलो खेल्ने चलन पनि छ। यस पर्वले घरको अन्धकार हटाएझैँ मनभित्रको अज्ञान र नकारात्मकता हटाएर ज्ञान, सद्भाव र सकारात्मकताको प्रकाश फैलाउनुपर्ने सन्देश दिन्छ।

गोरुपूजा, गोवर्धनपूजा तथा म्हःपूजा

यमपञ्चकको चौथो दिन कार्तिक शुक्ल प्रतिपदाका दिन गोरुपूजा, गोवर्धनपूजा तथा नेवारी समुदायमा म्हःपूजा गरिन्छ। कृषिप्रधान नेपाली समाजमा गोरुलाई कृषि कर्मको महत्त्वपूर्ण सहयोगीका रूपमा सम्मान गरिन्छ। यस दिन गोरुलाई टीका लगाउने, माला पहिर्‍याउने र मिठो भोजन खुवाउने परम्परा छ।

यसै दिन भगवान् श्रीकृष्णसँग सम्बन्धित गोवर्धनपूजा गरिन्छ। पौराणिक आख्यानअनुसार भगवान् श्रीकृष्णले इन्द्रको पूजा गर्नुभन्दा प्रकृति, गोवर्धनपर्वत, गाईगोरु तथा कृषिकर्मको सम्मान गर्नुपर्ने सन्देश दिनुभएको थियो। गोवर्धनपर्वत उठाएर गोकुलवासीको रक्षा गर्नुभएको स्मृतिमा गोबरबाट पर्वतको प्रतीक बनाई पूजा गर्ने परम्परा छ। यस पूजाले प्रकृति संरक्षण, कृषि र प्राकृतिक स्रोतप्रतिको सम्मानको महत्त्व दर्शाउँछ।

नेवारी समुदायमा यसै दिन म्हःपूजा अर्थात् आत्मपूजा गरिन्छ। यसले आत्मसम्मान, आत्मचिन्तन र आत्मकल्याणको सन्देश दिन्छ। यसै दिन नेपाल संवत्को नयाँ वर्षसमेत प्रारम्भ हुने भएकाले यसको विशेष सांस्कृतिक महत्त्व छ।

भाइटीका तथा यमद्वितीया

यमपञ्चकको पाँचौँ तथा अन्तिम दिन कार्तिक शुक्लद्वितीयाका दिन भाइटीका मनाइन्छ। यस दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, आरोग्य, सुखशान्ति र समृद्धिको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिने, माला पहिर्‍याउने र पूजा गर्ने परम्परा छ। दाजुभाइले पनि दिदीबहिनीलाई उपहार तथा दक्षिणा दिएर प्रेम र सम्मान प्रकट गर्छन्।

भाइटीकाका अवसरमा ओखर फुटाउने, तेलको घेरा लगाउने तथा दूबो, मखमली र सयपत्रीको माला पहिर्‍याउने चलन छ। मखमली नओइलाउने र दूबो सधैँ हरियो रहने भएकाले यी सामग्रीले दाजुभाइको दीर्घायु तथा दिदीबहिनी र दाजुभाइबीचको सम्बन्ध सधैँ प्रगाढ रहोस् भन्ने प्रतीकात्मक अर्थ बोकेका छन्।

यस दिनको धार्मिक महत्त्व यमदेव र यमुनाको पौराणिक आख्यानसँग जोडिएको छ। दिदीबहिनीले दाजुभाइको रक्षा र दीर्घायुको कामना गर्ने तथा दाजुभाइले पनि उनीहरूप्रति प्रेम, सम्मान र कृतज्ञता व्यक्त गर्ने भएकाले भाइटीका पारिवारिक आत्मीयताको विशेष पर्व बनेको छ।

समग्रमा यमपञ्चक अर्थात् तिहार नेपाली समाजको धार्मिक आस्था, सांस्कृतिक पहिचान, प्रकृतिप्रेम र पारिवारिक सम्बन्धको अनुपम उत्सव हो। काग, कुकुर, गाई र गोरुको पूजाले जीवजन्तुप्रतिको सम्मान सिकाउँछ भने लक्ष्मीपूजा र गोवर्धनपूजाले समृद्धि, परिश्रम तथा प्रकृति संरक्षणको महत्त्व उजागर गर्छन्। म्हःपूजाले आत्मसम्मान र भाइटीकाले पारिवारिक प्रेम तथा आत्मीयताको सन्देश दिन्छ।

आधुनिक जीवनशैलीसँगै तिहार मनाउने तरिकामा परिवर्तन आए पनि यसको मौलिक धार्मिक तथा सांस्कृतिक परम्परा संरक्षण गर्नु आवश्यक छ। बाहिरी घरआँगनलाई दीपले उज्यालो बनाएझैँ मनलाई पनि प्रेम, करुणा, सद्भाव र विवेकले प्रकाशित गर्न सक्नु नै यस पर्वको वास्तविक सन्देश हो। त्यसैले तिहार पाँच दिनको उत्सव मात्र नभई नेपाली समाजको जीवनपद्धति, सांस्कृतिक विरासत र आपसी सद्भावको प्रतीकसमेत हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij