२०८३, मंसिर १२ गते

शुक्रवार, मंसिर १२ गते २०८३

चार महिनामा १ करोड २१ लाखको अवैध पटका बरामद, मधेशमा सबैभन्दा बढी

शनिवार, कार्तिक २२ २०८३०७:५४

काठमाडौं । तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाएको सशस्त्र प्रहरी बल, नेपालले अवैध रूपमा भित्र्याइएका पटका बरामद गर्ने अभियानलाई तीव्र बनाएको छ । चाडपर्वका बेला पटका ओसारपसार, बिक्री वितरण तथा प्रयोगबाट हुन सक्ने आगलागी, दुर्घटना र मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्ने उद्देश्यले सीमा नाका तथा संवेदनशील क्षेत्रमा सुरक्षा जाँच कडा पारिएको हो ।

सशस्त्र प्रहरीका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिक २० गतेसम्म देशका विभिन्न स्थानबाट एक करोड २१ लाख २८ हजार ६६९ रुपैयाँ बराबरका अवैध पटका बरामद गरिएको छ । पछिल्लो २४ घण्टामा मात्रै थप ६ लाख ५९ हजार ५४० रुपैयाँ बराबरका पटका नियन्त्रणमा लिइएको छ ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार सबैभन्दा बढी मधेश प्रदेशबाट पटका बरामद गरिएको छ । मधेश प्रदेशबाट ७४ लाख ३१ हजार ९०९ रुपैयाँ बराबरका पटका नियन्त्रणमा लिइएको छ ।

त्यस्तै, लुम्बिनी प्रदेशबाट १८ लाख ३२ हजार २१२ रुपैयाँ, सुदूरपश्चिम प्रदेशबाट १४ लाख ८० हजार ३९८ रुपैयाँ, कोशी प्रदेशबाट ११ लाख ४९ हजार ३५० रुपैयाँ र बागमती प्रदेशबाट दुई लाख ३५ हजार रुपैयाँ बराबरका पटका बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

विशेषगरी खुला सीमाको फाइदा उठाउँदै लुकाइछिपाइ पटका नेपाल भित्र्याउने, एक स्थानबाट अर्को स्थानमा ओसारपसार गर्ने तथा बजारमा बिक्री वितरण गर्ने गतिविधि नियन्त्रण गर्न निगरानी बढाइएको छ । चाडपर्वको समयमा यस्ता अवैध गतिविधि बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै सीमा क्षेत्रमा नियमित गस्ती, सवारीसाधन जाँच तथा शंकास्पद गतिविधिमाथि निगरानीलाई थप प्रभावकारी बनाइएको छ ।

पटका तथा विस्फोटक प्रकृतिका आतसबाजीको प्रयोगले आगलागी र दुर्घटनाको जोखिम बढाउनुका साथै मानवीय तथा भौतिक क्षति निम्त्याउन सक्छ । यस्ता सामग्रीको प्रयोगबाट ध्वनि तथा वायु प्रदूषणसमेत बढ्ने भएकाले विशेषगरी बालबालिका र सर्वसाधारणको सुरक्षालाई ध्यानमा राखेर अवैध कारोबार नियन्त्रणलाई प्राथमिकतामा राखिएको सशस्त्र प्रहरीको भनाइ छ ।

तिहार तथा छठ पर्वलाई सुरक्षित, मर्यादित र दुर्घटनारहित बनाउन सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणसँगै पटका ओसारपसार तथा बिक्री वितरणविरुद्धको अभियानलाई निरन्तरता दिइने सशस्त्र प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij