२०८३, मंसिर १२ गते

शुक्रवार, मंसिर १२ गते २०८३

युरोपभर ३० भन्दा बढी विमानमा बमको झुटो धम्की, हवाई सेवा प्रभावित

शुक्रवार, कार्तिक २१ २०८३०२:४६

युरोपका विभिन्न देशमा दर्जनौँ यात्रुवाहक विमानमा बम राखिएको भन्दै झुटो धम्की आएपछि हवाई सेवा प्रभावित भएको छ। बिहीबार मात्रै करिब ३० वटा उडानलाई लक्षित गरी धम्की आएपछि केही विमानको आकस्मिक अवतरण गराइएको छ भने केहीलाई लडाकु विमानले सुरक्षा दिएका छन्।

रोयटर्सका अनुसार इटालीको रोम र मिलानका विमानस्थलमा विभिन्न एयरलाइन्स तथा सेवा प्रदायकका इमेल ठेगानामा बमको धम्की पठाइएको थियो। ‘मेल स्टेट’ नामको समूहले हेलसिन्की र डब्लिनबाट आउने विमानमा विस्फोटक पदार्थ राखिएको र ६० मिनेटभित्र विस्फोट हुने दाबी गरेको थियो।

फ्रान्समा डब्लिनबाट रोमका लागि उडेको एयर लिंगसको विमानलाई सुरक्षा जाँचका लागि वायुसेना बेसमा पुर्‍याइएको थियो। बुल्गेरियामा तीनवटा यात्रुवाहक विमानलाई सुरक्षित अवतरण गराउन लडाकु विमान परिचालन गरिएको थियो। लन्डनबाट सोफियाका लागि उडेको रायनएयरको विमानलाई प्लोभदिभमा अवतरण गराइएको थियो।

त्यस्तै, स्पेन, पोल्यान्ड, रोमानिया र डेनमार्कमा पनि विभिन्न उडानलाई बमको धम्की आएपछि सुरक्षा जाँच गरिएको थियो। केही विमानका यात्रुलाई बाहिर निकालेर खानतलासीसमेत गरिएको थियो।

इजीजेट, फिनएयर, लोट, विज एयर, रायनएयर र एयर सर्बियालगायतका विमान कम्पनीका उडानसमेत धम्कीबाट प्रभावित भएका थिए।

यसअघि मंगलबार पनि कम्तीमा सातवटा विमान र एउटा क्रुज जहाजलाई बम राखिएको भन्दै चेतावनी दिइएको थियो। लगातारका यस्ता धम्कीले युरोपेली हवाई सुरक्षामाथि चुनौती थपिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij