निर्वतमान नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफूलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर गरेको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ।
सर्वोच्च अदालत प्रशासनका अनुसार कार्कीको रिट निवेदन केहीबेरअघि दर्ता भएको हो। सरकारले आफूलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेपछि उक्त निर्णय बदरको माग गर्दै उनी सर्वोच्च पुगेका हुन्।
कार्कीले आफ्नो पदावधि बाँकी रहँदै कानुनी आधार र कारण नखुलाई, स्पष्टीकरण तथा सुनुवाइको अवसरसमेत नदिई अर्को जिम्मेवारीमा पठाइएको दाबी गरेका छन्।
सरकारको निर्णयलाई परोक्ष रूपमा पदमुक्त गर्ने बदनियतपूर्ण कार्य भन्दै उनले आफूलाई पूर्ववत् आईजीपी पदमा कायम राख्न माग गरेका छन्।
यसअघि बिहीबार रिट निवेदन लिएर सर्वोच्च अदालत पुगे पनि उनको निवेदन दर्ता भएको थिएन।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने र मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो।
प्रतिक्रिया दिनुहोस