२०८३, मंसिर १२ गते

शुक्रवार, मंसिर १२ गते २०८३

काठमाडौंमा देउसीभैलो खेल्न समयसीमा तोकिएन, प्रशासनद्वारा १० बुँदे निर्देशन जारी

शुक्रवार, कार्तिक २१ २०८३१२:०७

यस वर्ष तिहारमा काठमाडौंमा देउसीभैलो खेल्न कुनै समयसीमा तोकिएको छैन। विगतका वर्षमा राति निश्चित समयसम्म मात्रै देउसीभैलो खेल्न पाइने गरी सूचना जारी गर्दै आएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले यसपटक भने समयसीमा निर्धारण नगरी सावधानी अपनाउन १० बुँदे निर्देशन जारी गरेको छ।

प्रशासनले बिहीबार कात्तिक १९ गते जारी गरेको सूचनामा देउसीभैलो कार्यक्रमलाई नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षण हुने गरी मर्यादित, अनुशासित तथा व्यवस्थित रूपमा सञ्चालन गर्न आग्रह गरेको छ।

सूचनामा देउसीभैलो खेल्ने क्रममा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, झैझगडा गर्ने तथा सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्‍याउने गतिविधि नगर्न भनिएको छ।

त्यस्तै, ध्वनि प्रदूषण हुने गरी अत्यधिक ठूलो आवाजमा माइक, लाउडस्पिकर तथा बाजा बजाउन रोक लगाइएको छ। अस्पताल, विद्यालय, वृद्धाश्रम तथा अन्य संवेदनशील क्षेत्रमा विशेष सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ।

कुनै घर, कार्यालय वा व्यापारिक प्रतिष्ठानमा देउसीभैलो खेल्न जाँदा सम्बन्धित घरधनी वा सञ्चालकको पूर्वस्वीकृति लिनुपर्नेछ। अनुमति नदिएको स्थानमा जबरजस्ती देउसीभैलो खेल्ने वा चन्दा तथा दक्षिणा माग्ने कार्य नगर्न पनि निर्देशन दिइएको छ।

प्रशासनले पटाका, आतसबाजी, भुइँचम्पा, रकेट तथा अन्य विस्फोटक पदार्थको प्रयोग, ओसारपसार, बिक्रीवितरण र भण्डारण नगर्न चेतावनी दिएको छ।

त्यस्तै, सडक, चोक, गल्ली तथा फुटपाथमा सवारी आवागमन र पैदलयात्रीलाई अवरोध हुने गरी कार्यक्रम सञ्चालन नगर्न, कसैलाई जबरजस्ती रकम माग्ने, धम्क्याउने वा अभद्र व्यवहार नगर्न भनिएको छ।

देउसीभैलोमा सहभागी हुने बालबालिकालाई अभिभावकको निगरानीमा राख्न तथा सार्वजनिक र निजी सम्पत्तिमा क्षति पुग्ने गतिविधि नगर्न पनि प्रशासनले सचेत गराएको छ।

देउसीभैलो कार्यक्रम सञ्चालन गर्दा प्रचलित कानुन तथा ध्वनि प्रदूषण नियन्त्रणसम्बन्धी मापदण्ड अनिवार्य रूपमा पालना गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij