विराटनगर । नागरिक र पर्यटकलाई चौबिसै घण्टा सुरक्षा तथा सेवा उपलब्ध गराउनुपर्ने राज्यले राति १० बजेपछि होटलमा नयाँ ग्राहक प्रवेश रोक्ने र साढे १० बजेसम्म सबै पाहुनालाई बाहिर निकाल्नुपर्ने निर्णय गरेपछि मोरङ प्रशासनको कार्यशैलीमाथि प्रश्न उठेको छ।
सुरक्षा व्यवस्थापनको जिम्मेवारी पूरा गर्नुको साटो व्यवसाय सञ्चालनमै समयसीमा तोकेर समस्या समाधान गर्न खोजिएको भन्दै प्रशासनको निर्णयको आलोचना हुन थालेको छ।
जिल्ला प्रशासन कार्यालय मोरङले होटल, रेस्टुरेन्ट, क्लब, डिस्को तथा बारलाई लक्षित गरी लागू गरेको नयाँ व्यवस्थाप्रति रात्रिकालीन व्यवसायी मात्र होइन, प्रदेश सरकारको नेतृत्वसमेत असन्तुष्ट देखिएको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रशासनको निर्णयप्रति सार्वजनिक रूपमै आपत्ति जनाउँदै सुरक्षा दिन नसक्ने राज्यले होटल बन्द गराएर समस्याको समाधान खोज्न नहुने बताएका छन्।
मुख्यमन्त्री कार्कीले विराटनगर विमानस्थल राति अबेरसम्म सञ्चालन हुने, सडक यातायातबाट यात्रु जुनसुकै समयमा गन्तव्यमा पुग्ने र सीमावर्ती भारतीय सहरबाट राति नेपाल आइपुग्ने पर्यटकसमेत हुन सक्ने अवस्थामा होटलको ढोका बन्द गराउनु कति व्यावहारिक हुन्छ भन्ने प्रश्न उठाएका छन्।
सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गर्दै उनले राज्यको दायित्व नागरिक तथा पर्यटकको आवागमन रोक्नु नभई उनीहरूलाई चौबिसै घण्टा सुरक्षा र सेवा उपलब्ध गराउनु भएको बताएका छन्।
‘राज्यले दिउँसो मात्रै सुरक्षा दिने र राति सुरक्षा उपलब्ध नगराउने भन्ने हुन सक्दैन। राज्य वा स्थानीय प्रशासनले पर्यटक वा नागरिकलाई २४ घण्टा नै सेवा र सुरक्षा दिनुपर्छ,’ मुख्यमन्त्री कार्कीले भनेका छन्।
उनले यस्ता निर्णय गर्नुअघि प्रदेश सरकार र स्थानीय तहसँग समन्वय तथा परामर्श गर्नुपर्नेमा जोड दिएका छन्। पर्यटन, व्यवसाय र देशको प्रतिष्ठासँग जोडिएको विषयमा प्रशासनले हतारमा निर्णय गरेको उनको असन्तुष्टि छ।
प्रशासनको निर्णयले अर्को गम्भीर प्रश्न पनि उठाएको छ– सुरक्षा चुनौती देखिए होटल बन्द गराउने कि सुरक्षा व्यवस्था प्रभावकारी बनाउने?
राति मदिरा सेवन गरेका ग्राहकबाट दुर्घटना हुन सक्ने जोखिम भए मादक पदार्थ सेवन गरेर सवारी चलाउनेमाथि कारबाही गर्ने जिम्मेवारी प्रहरीको हो। रात्रिकालीन व्यवसायमा कार्यरत महिला श्रमिक असुरक्षित छन् भने उनीहरूको सुरक्षा सुनिश्चित गर्नु पनि राज्यकै दायित्व हो। त्यसको विकल्प व्यवसाय सञ्चालनको समय घटाउनु हुन नसक्ने व्यवसायीहरूको तर्क छ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले भने रात्रिकालीन व्यवसायमा देखिएका समस्या नियन्त्रण गर्न तत्कालका लागि समयसीमा तोकिएको बताएका छन्।
उनका अनुसार राति अबेरसम्म होटलमा बसेर मदिरा सेवन गरेका ग्राहक सवारीसाधन लिएर बाहिर निस्कँदा दुर्घटनाको जोखिम बढेको छ। त्यस्तै, रात्रिकालीन व्यवसायमा कार्यरत महिला कर्मचारीको सुरक्षासम्बन्धी गुनासो पनि आएको छ।
‘राति १२ बजेसम्म होटलमा बसेर मदिरा सेवन गरेका यात्रु निस्किँदा दुर्घटना बढ्यो। त्यहाँ काम गर्ने महिला कामदारको सुरक्षा पनि भएन,’ कोइरालाले भने, ‘रात्रिकालीन मनोरञ्जनात्मक व्यवसाय सञ्चालनसम्बन्धी एकीकृत मापदण्ड तयार नभएसम्मका लागि १० बजे बन्द गर्ने निर्णय भएको हो। मापदण्ड बनेपछि समय बढ्छ।’
प्रशासनले यो व्यवस्था अस्थायी भएको दाबी गरे पनि एकीकृत मापदण्ड नबन्दासम्म व्यवसाय सञ्चालनको समय कटौती गर्नु दीर्घकालीन समाधान नभएको होटल व्यवसायीहरूको भनाइ छ।
दुर्घटना नियन्त्रण गर्न नसक्ने, महिला श्रमिकलाई सुरक्षित वातावरण दिन नसक्ने र रातिको सुरक्षा व्यवस्थापन प्रभावकारी बनाउन नसक्ने कमजोरीको असर समग्र व्यवसायी र उपभोक्तालाई पार्नु न्यायोचित नहुने उनीहरूको तर्क छ।
सुरक्षा र व्यवसाय सञ्चालनबीच सन्तुलन कायम गर्नुपर्ने अवस्थामा प्रशासनको निर्णयले नागरिकको सुरक्षा, पर्यटन प्रवर्द्धन र रात्रिकालीन अर्थतन्त्रको व्यवस्थापनबारे बहस सिर्जना गरेको छ।
प्रतिक्रिया दिनुहोस