काठमाडौँ । अमेरिका–इजरायल र इरानबीच जारी युद्धका कारण मध्यपूर्वमा तनाव बढिरहेका बेला चीनले यस क्षेत्रमा आफ्नो कूटनीतिक सक्रियता तीव्र बनाएको छ।
सोमबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यीले इरानका वरिष्ठ सुरक्षा अधिकारीसँग भेटवार्ता गरेका छन् भने राष्ट्रपति सी चिनफिङले ओमानका सुल्तान हैथम बिन तारिकलाई राजकीय स्वागत गरेका छन्।
क्षेत्रीय द्वन्द्व लम्बिँदै जाँदा अन्य क्षेत्रमा समेत फैलिने जोखिम रहेको उल्लेख गर्दै विदेशमन्त्री वाङले इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का उपसचिव अली बघेरी कानीसँगको भेटमा संवाद र वार्ता नै संकट समाधानको एकमात्र व्यावहारिक बाटो भएको बताएका छन्। उनले इरानको सार्वभौमसत्ता र सुरक्षाप्रति चीनको समर्थनसमेत दोहोर्याएका छन्।
चीनले युद्ध सुरु हुनुमा अमेरिका र इजरायललाई जिम्मेवार ठहर गर्दै आएको छ। इरानको निकट साझेदार चीन उसको सबैभन्दा ठूलो व्यापारिक साझेदार र इरानी कच्चा तेलको प्रमुख खरिदकर्ता पनि हो।
यद्यपि, पछिल्ला केही हप्ता तथा महिनामा युद्ध अन्त्यका लागि चीनले अपेक्षाकृत कम कूटनीतिक पहल गरेको विश्लेषण गरिएको छ। पछिल्लो भेटवार्ताले युद्ध अन्त्यका लागि ठोस प्रगति नभएपछि चीन वार्ता प्रक्रियामा थप सक्रिय हुन चाहेको संकेत गरेको विश्लेषकहरूको भनाइ छ।
यसैबीच, चिनियाँ विदेश मन्त्रालयले मध्यपूर्वका लागि चीनका विशेष दूत झाई जुनले यसै महिना इरान, ओमान र साउदी अरबको भ्रमण गर्ने घोषणा गरेको छ।
अर्कोतर्फ, राष्ट्रपति सी चिनफिङले ओमानका सुल्तान हैथम बिन तारिकलाई बेइजिङमा स्वागत गरेका छन्। सन् १९७८ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता चीन भ्रमण गर्ने उनी पहिलो ओमानी राष्ट्राध्यक्ष हुन्।
भेटका क्रममा राष्ट्रपति सीले मध्यपूर्व र खाडी क्षेत्र महाशक्तिहरूबीचको प्रतिस्पर्धा तथा भूराजनीतिक द्वन्द्वको मैदान बन्न नहुने बताएका छन्।
होर्मुज जलमार्गको प्रवेशद्वारमा अवस्थित ओमान यस रणनीतिक समुद्री मार्गका लागि महत्वपूर्ण देश मानिन्छ। अमेरिका–इरान युद्धका कारण समुद्री यातायात प्रभावित हुनुअघि विश्वव्यापी ऊर्जा निर्यातको करिब पाँचौँ भाग यही जलमार्ग हुँदै ओसारपसार हुने गरेको थियो।
चीनको पछिल्लो कूटनीतिक सक्रियतालाई मध्यपूर्वमा युद्ध अन्त्यका लागि संवाद अघि बढाउने र खाडी क्षेत्रको रणनीतिक स्थायित्व कायम राख्ने प्रयासका रूपमा हेरिएको छ।
प्रतिक्रिया दिनुहोस