काठमाडौं । भारी हिमपातका कारण डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित दानीगढमा फसेका ६ जना भारतीय पर्यटकको हेलिकोप्टरमार्फत सकुशल उद्धार गरिएको छ ।
सोमबार बिहान हेलिकोप्टरबाट उद्धार गरिएका उनीहरूलाई सदरमुकाम दुनै ल्याइएको डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले जानकारी दिइन् ।
उनका अनुसार शे–फोक्सुण्डो तालको अवलोकन सकेर अपर डोल्पातर्फको यात्रामा निस्किएका भारतीय पर्यटक केही दिनदेखिको लगातारको भारी हिमपातका कारण दानीगढमा फसेका थिए ।
उद्धार गरिएका पर्यटकमा मोमिता हाल्डर, पियाली कोले, जाजला ट्रिभ्ड कुमार, आदित्य सिंह, डिप्लिना विश्वास र राजेश डी रहेका छन् ।
उनीहरूलाई आइतबार नै उद्धार गर्ने प्रयास गरिए पनि प्राविधिक समस्याका कारण सम्भव हुन सकेको थिएन । अन्ततः सोमबार बिहान हेलिकोप्टरमार्फत सबैलाई सकुशल उद्धार गरिएको हो ।
प्रतिक्रिया दिनुहोस