काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले आर्थिक अनुशासन र प्रहरी आचरणमा कुनै सम्झौता नगर्न मातहतका कर्मचारीलाई कडा निर्देशन दिएका छन् ।
आइतबार राजधानीमा आयोजित सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनसम्बन्धी अन्तरक्रियामा बोल्दै उनले राज्यले उपलब्ध गराएको सेवा–सुविधामा सन्तुष्ट हुन नसक्नेले जागिर छाड्न सक्ने तर बर्दीको दुरुपयोग गरी अनियमितता गर्नेले कुनै पनि अवस्थामा उन्मुक्ति नपाउने स्पष्ट पारे ।
एसएसपी काफ्लेले चालु आर्थिक वर्ष सुरु भएयता मात्रै आचरणविपरीत कार्य गर्ने २० देखि २५ जना प्रहरी कर्मचारीले जागिर गुमाइसकेको जानकारी दिँदै आर्थिक अनियमिततामा संलग्न हुनेलाई कडा कारबाही गरिने चेतावनी दिए ।
‘हामीलाई आर्थिक अनियमितताको आरोप लाग्नुजति दुःखद कुरा अरू केही हुँदैन,’ उनले भने, ‘राज्यले दिएको तलबमा सन्तुष्ट हुनुपर्छ । चित्त बुझ्दैन भने अन्य क्षेत्रमा जाने विकल्प खुला छ, तर नियमविपरीत काम गर्ने कसैले पनि उन्मुक्ति पाउँदैन ।’
सडकमा प्रत्यक्ष खटिने र नागरिकसँग दैनिक सम्पर्कमा रहने भएकाले ट्राफिक प्रहरीको व्यवहार मर्यादित, जिम्मेवार र संवेदनशील हुनुपर्नेमा उनले जोड दिए ।
उनले सडकमा देखिने हरेक परिस्थितिलाई एउटै दृष्टिकोणले हेर्न नहुने भन्दै परिस्थितिअनुसार स्वविवेकीय अधिकारको उचित प्रयोग गर्न निर्देशन दिए । घाइतेलाई अस्पताल लैजान हतारिएको व्यक्ति र मादक पदार्थ सेवन गरी नियम उल्लङ्घन गर्ने व्यक्तिबीचको अवस्था फरक हुने उनको भनाइ थियो ।
तर, जानाजान कानुन उल्लङ्घन गर्ने तथा सडकमा होहल्ला गर्नेहरूलाई भने कानुनबमोजिम कडा कारबाही गर्न उनले निर्देशन दिएका छन् ।
व्यक्तिगत स्वार्थभन्दा नागरिकको हितलाई प्राथमिकतामा राखेर सेवा प्रवाह गर्नुपर्ने उल्लेख गर्दै काफ्लेले ट्राफिक प्रहरीकै कारण सर्वसाधारणले सडकमा अनावश्यक सास्ती भोग्नुपर्ने अवस्था आउन नदिनसमेत मातहतका कर्मचारीलाई सचेत गराएका छन् ।
प्रतिक्रिया दिनुहोस