काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष आरके शर्माले मध्यपूर्व क्षेत्रका नेपालीले उठाउँदै आएका एजेन्डा नेपालको राष्ट्रिय नीतिका रूपमा स्थापित भएको दाबी गरेका छन् ।
कतारको दोहामा आगामी डिसेम्बर ११ र १२ तारिखमा आयोजना हुने एनआरएनएको नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलनको तयारीबारे जानकारी दिन शनिबार राति आयोजित पत्रकार सम्मेलनमा बोल्दै शर्माले मध्यपूर्वलाई वैदेशिक रोजगारीको गन्तव्यमा मात्र सीमित नराखी एनआरएनए अभियानका महत्त्वपूर्ण उपलब्धि र नीतिगत परिवर्तनको आधारभूमिका रूपमा व्याख्या गरे ।
उनका अनुसार वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने र सेयर बजारमा १० प्रतिशत आईपीओ कोटा सुनिश्चित गर्ने उपलब्धि मध्यपूर्वमा रहेका नेपालीको निरन्तर पैरवी र संघर्षको परिणाम हो । श्रमिकका आवाजलाई संस्थागत रूपमा उठाउँदै राज्यलाई दबाब दिएकै कारण यी अवसर प्राप्त भएको उनले बताए ।
विदेशमा अलपत्र परेका नेपालीको उद्धार तथा ब्लड मनी सङ्कलनजस्ता मानवीय अभियानको सुरुवात पनि मध्यपूर्वबाटै भएको शर्माले स्मरण गरे । डोल्मा शेर्पा बचाउ अभियानदेखि मृत्युदण्डको सजाय पाएर जेलमा रहेका नेपालीको उद्धारसम्म मध्यपूर्वका नेपालीले देखाएको एकता र सहयोग उदाहरणीय रहेको उनको भनाइ थियो ।
काठमाडौंको बालुवाटारस्थित एनआरएनएको केन्द्रीय कार्यालय भवन निर्माणमा समेत मध्यपूर्वमा रहेका नेपालीको ठूलो आर्थिक योगदान रहेको उनले उल्लेख गरे ।
कतारबाटै पहिलोपटक मध्यपूर्व क्षेत्रीय सम्मेलन सुरु भएको स्मरण गर्दै शर्माले विदेशमा रहेका नेपालीलाई मताधिकार दिने विषयमा सर्वोच्च अदालतबाट भएको फैसला कार्यान्वयनको चरणमा पुग्नु पनि महत्त्वपूर्ण उपलब्धि भएको बताए ।
त्यस्तै, १० अर्ब रुपैयाँको लगानी कोषमार्फत विदेशमा रहेका नेपालीको सानो पुँजीलाई नेपालको विकाससँग जोड्ने अभियान अघि बढेको उनले बताए । श्रमिकको सानो पुँजी एकीकृत गरी जलविद्युत्, कृषि तथा पर्यटन क्षेत्रमा लगानी गर्ने अवसर सिर्जना हुनु सकारात्मक उपलब्धि भएको उनको भनाइ थियो ।
आगामी डिसेम्बर ११ र १२ तारिखमा दोहामा आयोजना हुने नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलनले सुरक्षित वैदेशिक रोजगारी, आप्रवासन व्यवस्थापन र नेपालमा लगानीका अवसर विस्तार गर्ने विषयमा नयाँ मार्गचित्र तय गर्ने विश्वास शर्माले व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस