काठमाडौँ । नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यसहित काठमाडौँस्थित भारतीय राजदूतावासले दसैँ, तिहार तथा छठ पर्वको अवसरमा सांगीतिक साँझ आयोजना गरेको छ।
दूतावासको प्रेस, सूचना तथा संस्कृति प्रभागले बिहीबार दूतावास परिसरमा आयोजना गरेको कार्यक्रममा नेपाली र भारतीय लोकसंगीतका विविध प्रस्तुति समेटिएका थिए। दुवै देशका मौलिक संगीत, संस्कृति र परम्परालाई एउटै मञ्चमा प्रस्तुत गरिएको कार्यक्रमले सांस्कृतिक एकता र पारस्परिक आत्मीयताको सन्देश दिएको थियो।
कार्यक्रममा नेपालको चर्चित ब्यान्ड त्रिकाल तान्त्रिक्सले लोक, फ्युजन तथा समकालीन संगीतको संयोजनमार्फत दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो। ब्यान्डले नेपाली संगीतको मौलिकता र आधुनिक शैलीलाई समेट्दै आकर्षक प्रस्तुति दिएको थियो।
त्यसैगरी, भारतबाट आएकी लोकगायिका विजया भारती र उनको समूहले भारतीय लोकसंगीत प्रस्तुत गरेका थिए। आफ्नो सांगीतिक प्रस्तुति सुरु गर्नुअघि उनले पशुपतिनाथको महिमा वर्णन गर्दै गणेशस्तोत्र प्रस्तुत गरेकी थिइन्। धार्मिक आस्था र सांगीतिक परम्पराको संयोजनसहित सुरु भएको उनको प्रस्तुतिले कार्यक्रममा आध्यात्मिक र सांस्कृतिक रौनक थपेको थियो।
भारतका विभिन्न क्षेत्रका लोकधुन तथा सांगीतिक परम्परा प्रस्तुत गरेकी भारतीले नेपालप्रतिको आफ्नो आत्मीयता पनि व्यक्त गरिन्। उनले आफूले हालसम्म ३० भन्दा बढी देशमा सांगीतिक प्रस्तुति दिइसकेको उल्लेख गर्दै नेपालमा आएर प्रस्तुति दिन पाउँदा निकै खुसी लागेको बताइन्।
उनले आगामी दिनमा पुनः नेपाल आउने अवसर प्राप्त भए अझ खुसी हुने बताउँदै नेपालसँगको आत्मीय सम्बन्धलाई थप विस्तार गर्न आफू इच्छुक रहेको धारणा व्यक्त गरिन्। उनको प्रस्तुतिले मनोरञ्जनसँगै नेपाल र भारतबीचको सांस्कृतिक निकटतालाई समेत उजागर गरेको थियो।
कार्यक्रममा दूतावासको प्रेस, सूचना तथा संस्कृति प्रभाग प्रमुख एवं प्रवक्ता वशिष्ट नन्दनले अतिथिहरूलाई स्वागत गरेका थिए। दूतावासका कार्यवाहक राजदूत डा. राकेश पाण्डे, भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डे, परराष्ट्र मन्त्रालयका अधिकारी, दूतावासका विभिन्न विभागका प्रमुख तथा कला, संस्कृति, कूटनीति, प्राध्यापन र पत्रकारितालगायत क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।
नेपाल र भारतबीचको सम्बन्ध राजनीतिक तथा कूटनीतिक तहमा मात्र सीमित छैन। भाषा, धर्म, संस्कृति, संगीत र चाडपर्वले दुवै देशका नागरिकलाई पुस्तौँदेखि जोड्दै आएका छन्। पशुपतिनाथप्रतिको साझा धार्मिक आस्था र जनस्तरमा देखिने आत्मीय सम्बन्धले पनि दुई देशबीचको सांस्कृतिक निकटतालाई प्रतिबिम्बित गर्छ।
दसैँ, तिहार र छठजस्ता पर्वका अवसरमा आयोजना गरिने यस्ता सांस्कृतिक कार्यक्रमले पारस्परिक सद्भाव र समझदारी अभिवृद्धि गर्नुका साथै दुवै देशका कलाकारलाई आफ्नो कला र प्रतिभा प्रस्तुत गर्ने साझा मञ्च प्रदान गर्छन्।
भारतीय दूतावासले आयोजना गरेको यो सांगीतिक साँझ पनि संगीत र संस्कृतिलाई माध्यम बनाएर नेपाल–भारत सम्बन्धलाई थप आत्मीय, सुमधुर र सुदृढ बनाउने सांस्कृतिक कूटनीतिक प्रयासका रूपमा देखिएको छ।
प्रतिक्रिया दिनुहोस