राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा जोखिम बढ्दै गएको भन्दै सरकारी निकायलाई आफ्ना वेबसाइट तथा वेब एप्लिकेसनको सुरक्षा सुदृढ गर्न निर्देशन दिएको छ। केन्द्रले नोड डट जेएस रनटाइममा गम्भीर सुरक्षा कमजोरी पहिचान भएको उल्लेख गर्दै प्रयोगमा रहेका संस्करण जाँच गरी नयाँ संस्करणमा अद्यावधिक गर्न आग्रह गरेको हो।
केन्द्रका अनुसार सुरक्षा कमजोरीको दुरुपयोग भएमा प्रणालीमा अनधिकृत पहुँच प्राप्त हुने, सेवा अवरुद्ध हुने तथा प्रणालीमा सञ्चालन भइरहेका कार्यमा अनधिकृत नियन्त्रण कायम हुन सक्ने जोखिम छ।
केन्द्रले वेबसाइटमा वैध एसएसएल/टिएलएस प्रमाणपत्र अनिवार्य रूपमा प्रयोग गर्न पनि निर्देशन दिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय मातहत रहेको केन्द्रले संघीय मन्त्रालय, आयोग, सचिवालय, प्रदेश मन्त्रालय, नेपाल नगरपालिका संघ तथा गाउँपालिका राष्ट्रिय महासंघलाई परिपत्र गर्दै वेबसाइटको सुरक्षा मापदण्ड प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरेको हो।
केन्द्रले प्रयोगकर्ताका तथ्यांक सुरक्षित रूपमा आदानप्रदान गर्न वेबसाइटमा इन्क्रिप्सन व्यवस्था अनिवार्य गर्नुपर्ने जनाएको छ। त्यसका लागि टिएलएस १.२ वा टिएलएस १.३ जस्ता सुरक्षित प्रोटोकलसहित वैध एसएसएल/टिएलएस प्रमाणपत्र प्रयोग गर्नुपर्ने निर्देशनमा उल्लेख छ।
सबै सरकारी निकायले आफ्ना वेबसाइटमा प्रयोग भइरहेको प्रमाणपत्रको वैधता तत्काल जाँच गर्नुपर्नेछ। प्रमाणपत्र नभएका वा म्याद समाप्त भएका वेबसाइटमा आधिकारिक तथा विश्वसनीय निकायबाट वैध प्रमाणपत्र जारी गराई जडान र आवश्यक कन्फिगरेसन गर्नुपर्ने केन्द्रले जनाएको छ।केन्द्रले सरकारी वेबसाइटलाई एचटीटीपीएसमार्फत मात्र सञ्चालन हुने व्यवस्था मिलाउन निर्देशन दिएको छ। साथै, असुरक्षित प्रोटोकल बन्द गरी वेबसाइटको सुरक्षामा देखिएका कमजोरी हटाउन आवश्यक उपाय अपनाउन आग्रह गरिएको छ।
एसएसएल/टिएलएस प्रमाणपत्रको म्याद समाप्त हुनुअघि नै नियमित नवीकरण गर्ने व्यवस्था मिलाउन पनि केन्द्रले भनेको छ।
सरकारी वेबसाइटमा साइबर आक्रमणको जोखिम न्यूनीकरण गर्न अन्य आवश्यक सुरक्षा मापदण्डसमेत उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्नुपर्ने केन्द्रको भनाइ छ।
नागरिकका व्यक्तिगत विवरण तथा अन्य संवेदनशील सूचनाको संरक्षण गर्दै सरकारी डिजिटल सेवाको सुरक्षा सुदृढ बनाउन यस्तो व्यवस्था आवश्यक रहेको केन्द्रले जनाएको छ।
प्रतिक्रिया दिनुहोस